गोठ रित्तै

१ महिना अगाडि

काठमाडौँ -  लेकबेँसी गरेर जीवन निर्वाह गर्ने पश्चिम बागलुङको ग्रामीण क्षेत्रका नागरिकको चलन नै हो । एकै परिवारले सयौँ पशुचौपाय पाल्ने हुँदा पुखौँ देखि लेकबेँसी गर्दै आएका छन्  । लेकबेँसी गर्दै आएका अधिकांशको लेकमा अस्थायी गोठ बनाउने र बेंसीमा घर हुन्छ । बेँसीमा मात्रै पशुचौपाया पाल्न नसकिने हुँदा जेठदेखि कात्तिक महिनासम्म लेकमा बस्ने गर्छन् ।

 

लेकमा काठैकाठ र ढुङ्गाले गोठ बनाइएका हुन्छन्  ।  एक दशक अगाडि सम्म ती गोठमा पुग्दा गोठाला सहित भेडाबाख्रा, गाईगोरु र भैँसी भेटिन्थे । तर अहिले ती गोठ जीर्ण बनेका छन्, , गोठालाले घामपानी, हावाहुरी र जाडो छेक्नका लागि बनाएको गोठ हिजोआज बेवारिसे बनेका छन् । पशुचौपाया कम पाल्ने र लेकबेंसी गर्ने चलन घट्दै गएपछि लेक पनि उराठिलो बन्न थालेका छन् ।कुनै बेला सेताम्य भेडा बाख्राले ढाकिने खर्क, अग्ला डाँडा र बुकी सुनसान भएका छन् । गोठालाले भरिने गोठ भत्किएका छन् । बुढापाका लेकबेँसी गर्न छोडे । युवा पुस्ताको रोजाइ सहर बजार र विदेश भयो । त्यसले गर्दा गोठालाको सङ्ख्या पनि कम हुँदै गएको छ ।जब गाउँ मोटरबाटोले जोडिए, सेवा सुविधाको पहुँच सहज भयो, त्यसपछि पशुचौपाया पाल्ने पनि कम हुँदै गए । बागलुङको ढोरपाटन, निसीखोला, तमानखोला, ताराखोला लगायतका ठाउँ उच्च पहाडी क्षेत्रम पर्ने हुँदा यहाँका स्थानीय पशुपालनमा आश्रित थिए । स्थानीय तहले लेकसम्मै मोटरबाटो निर्माण गरेपछि पशुपालनको सट्टा अन्य पेसा अङ्गाल्नेको सङ्ख्या बढ्दै गयो ।बुढापाका लेकमा पुग्न छोडे । युवालाई त्यसप्रति चासो छैन । दशकौँदेखि पशुपालनमै रमाउँदै आएका केही व्यक्ति भने अहिले पनि निरन्तर लेकबेँसी गरेर गुजारा चलाउँदै आएका छन् ।

१ महिना अगाडि

प्रतिक्रिया