व्यवसायीको मनोबल बढ्नेगरि सरकारले काम अगाडि बढाएको छ : अर्थमन्त्री पुन

मंगलबार, २९ फागुन २०८०, १८ : २३

काठमाडौँ। अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रको मनोबल उठाउन सरकार सशक्त रूपमा लागिपर्ने बताएका छन् ।

आज ९मङ्गलवार० नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँग अर्थ मन्त्रालयमा भएको भेटमा उनले सरकार लगानी सुरक्षा गर्न प्रतिबद्ध रहेकाले लगानी गर्न उद्योगी( व्यवसायीले ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन्।

आफूले मन्त्रालयको नेतृत्व सम्हालेकै दिनबाट सुरक्षित व्यावसायिक वातावरण बनाउन प्रयासरत रहेकाले नआत्तिन पुनले व्यवसायीलाई ढाडस दिएका छन्। मन्त्री पुनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सँगै राखेर व्यावसायिक वातावरण बनाउन निर्देशन दिएको जानकारी दिएका छन्।

‘प्रधानमन्त्रीज्यूले म र गृहमन्त्रीलाई सँगै राखेर उद्योगी व्यवसायीलाई राज्यका निकायले तर्साउनु भएन भन्नुभएको छ’, पुनले भने, ‘हामी निजी क्षेत्रलाई अपिल गर्न चाहन्छौँ कि अभिभावकीय भूमिकामा रहेको सरकारले कसैलाई आतङ्कित बनाउने काम गर्दैन।’

पुनले आरोप प्रमाणित हुने तथ्य नभएसम्म व्यवसायीलाई पक्राउ गरेर नथुन्ने वातावरण बनाइने विश्वास दिलाएका छन्। ‘आरोप लाग्दैमा कसैलाई पनि दोषी करार गर्न मिल्दैन’, उनले भने, ‘गम्भीर अपराध गरे बाहेकलाई सरकारले अनावश्यक हस्तक्षेप गर्दैन।’

यद्यपि पुनले राजस्व छलीमा भने सरकारले कडाइ गर्ने बताए। तर, व्यवसायीसँगको समन्वयमै राजस्व छलीलाई नियन्त्रण गरिने भएकाले सहयोग गर्न निजी क्षेत्रलाई आग्रह गरे। ‘अकस्मात् होइन जानकारी दिएरै राजस्व छलीमा कडाइ हुन्छ’, उनले भने, ‘गैर कानुनी कामलाई राज्यले नियन्त्रण गर्दा व्यवसायीको पनि साथ चाहियो।’

उनले आगामी आर्थिक वर्ष २०८१(८२ को बजेट बनाउनुअघि व्यवसायीका जायज चासोबारे मन्त्रालयले छलफल गर्ने पनि उल्लेख गरे। कुनै पनि वस्तुमा कर लगाउँदा सरकारले त्यसको औचित्य पुष्टि हुने गरी मात्र काम गर्ने उनको स्पष्टोक्ति थियो।

मंगलबार, २९ फागुन २०८०, १८ : २३

प्रतिक्रिया