एक महिना लगानी सम्मेलन केन्द्रित भएर काम गर्न राजदूत र नियोग प्रमुखलाई निर्देशन

लगानी सम्मेलनको तयारीमा अर्थमन्त्रीद्वारा ४० बढी राजदूतसँग भर्चुअल बैठक

आइतबार, १८ चैत्र २०८०, ०७ : २३

काठमाडौं- अर्थमन्त्री वर्षमान पुनले विदेशस्थित ४० बढी देशमा रहेका नेपाली राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूसँग भर्चुअल बैठक गरेका छन्।

वैशाख १६ र १७ मा तय भएको लगानी सम्मेलनको तयारीका क्रममा अर्थमन्त्री पुनले विभिन्न देशमा रहेका राजदूतहरूसँग छलफल गरेका छन्। मन्त्री पुनले राजदूत र नियोग प्रमुखहरूलाई अबको एक महिना लगानी सम्मेलन केन्द्रित भएर काम गर्न सरकारको तर्फबाट निर्देशन दिएका थिए। ‘लगानी सम्मेलन राष्ट्रको इज्जत, प्रतिष्ठा, गौरवको विषयसँग जोडिएको छ,’ पुनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूकै तर्फबाट म यहाँहरूलाई आग्रह गर्छु कि अबको १ महिना यसमा लाग्नुस् ।’

मन्त्री पुनले विदेशी विकास साझेदार, ठुला लगानीकर्ता, सम्भावित लगानीकर्ता, कार्यक्रमका वक्ता र उच्च पदस्थ सरकारी व्यक्तित्वहरूलाई यसअघि नै निम्ता पठाइसकिएको जानकारी दिए । साथै, राजदूत तथा नियोग प्रमुखहरूलाई सम्मेलनमा आउन निश्चित भएकाहरूको सूची तयार पारेर पठाउन पनि निर्देशन दिएको जानकारी दिएका छन्। 

नेपालमा लगानीमैत्री वातावरण बनाउन सरकारले नीतिगत,प्रक्रियागत र कानुनी सुधारको काम अघि बढाएको पनि अर्थमन्त्री पुनले बताए। त्यसका लागि १ दर्जन बढी कानुनमा संशोधनमार्फत सुधारको प्रक्रिया अघि बढाइएको विषयमा आफू रहेको देशका लगानीकर्ता र सरकारी एजेन्सीहरूलाई जानकारी गराउन मन्त्री पुनले आग्रह गरेका छन् । 

‘१२ वटा कानुन र कतिपय द्विपक्षीय समझदारी गर्ने कुरामा पनि छलफल चलिरहेको छ । लगानीमैत्री कानुन बनाउन भइहरेका प्रयासबारे लगानीकर्ता र सरकारी एजेन्सीहरूलाई जानकारी दिनुहोस्,’उनले भने । यस्तै मन्त्री पुनले सरकारको मूल नेतृत्व उहीँ रहेको र एकाध मन्त्रीहरू मात्र फेरिएकाले लगानी सम्मेलन र लगानीसम्बन्धी नीतिमा कुनै फेरबदल नभएको विषयमा समेत अन्तर्राष्ट्रिय समुदायलाई आश्वस्त तुल्याउन प्रयास गर्नुपर्ने बताए। 

गैर आवासीय नेपालीले आर्जन गरेका ज्ञान, सीप र प्रविधिलाई मातृभूमिमा प्रयोग गर्ने विषयलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिँदै मन्त्री पुनले यो सन्देश प्रवाह गर्न राजदूत र नियोग प्रमुखहरूलाई अनुरोध गरेका थिए । बैठकमा मुख्यसचिव बैठकुण्ठ अर्याल, परराष्ट्रसचिव सेवा लम्साल र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत ९सिईओ० सुशील भट्टलगायत सहभागी थिए ।

आइतबार, १८ चैत्र २०८०, ०७ : २३

प्रतिक्रिया