बालुवाटारमा आज ९ बजेदेखि संवैधानिक परिषद्को बैठक बस्दै

१ महिना अगाडि

काठमाडौँ- आज आइतबार बिहान बिहान ९ बजे संवैधानिक परिषद्को बैठक बस्दै छ । बैठकमा रिक्त रहेका संवैधानिक पदहरूमा नियुक्तिबारे छलफल गरिने भएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहालले विपक्षी दलका नेता शेरबहादुर देउवासँग परामर्श गरेर परिषद्को बैठक आह्वान गरेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार परिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजेका लागि बोलाइएको छ।

 बैठकमा महालेखा परीक्षक नियुक्तिको प्रस्ताव प्रस्तुत हुनेछ भने अन्य रिक्त पदहरूमा समेत नियुक्तिका विषयमा छलफल हुनेछ। प्रधानमन्त्री दाहालले शनिवार विपक्षी दलका नेता देउवासँग छलफल गरेका थिए । सो छलफलमा सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसमेत सहभागी थिए । 

प्रधानमन्त्रीको नेतृत्वमा हुने संवैधानिक परिषद्मा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था रहेको छ । संवैधानिक पदहरूमा नियुक्तिका लागि उपयुक्त व्यक्ति छनोट गरी राष्ट्रपतिसमक्ष सिफारिस गर्ने परिषद्को कार्याधिकारी रहेको छ । 
 

१ महिना अगाडि

प्रतिक्रिया