ईभी कारमा ६ वटा महादेशका २७ देशको ३० हजार किलोमिटर यात्रा गरेर विश्व किर्तिमानी

४ हप्ता अगाडि

काठमाडौँ- इलेक्ट्रिक कारका बारेमा आम मानिसहरुले सबैभन्दा धेरै सोध्ने प्रश्न यसको रेञ्जको बारेमा हो । आम मानिसहरुमा ईभी कारमा लामो यात्रा गर्न सजिलो हुँदैन भन्ने धारणा रहेको हुन्छ ।  
चार्जिङको व्यवस्था सबै ठाउँमा नभएको अवस्थामा नेपालजस्तो देशमा ईभी कार लिएर लामो यात्रा गर्नु चुनौतिपूर्ण हुन सक्छ । तर यदि सबै कुरा योजना अनुरुप गरियो भने सबै कुरा सम्भव हुन सक्छ । यको ज्वलन्त उदाहरण लेक्सी अल्फोर्ड बनेकी छिन् ।  

लेक्सी लिमिटलेसको नामबाट चर्चित ब्लगर तथा सहासीयात्री लेक्सी अल्फोर्डले ईभी कारमा ६ वटा महादेशका २७ देशको ३० हजार किलोमिटर यात्रा गरेर विश्व किर्तिमान बनाएकी छन् । लेक्सी ईभी कारमा विश्व भ्रमण गर्ने विश्वकी पहिलो महिला बनेकी छन् । यतिमात्रै नभएर उनको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा समेत दर्ता भएको छ । सन् २०१९ मा उनले केवल २१ वर्षको उमेरमा १९५ वटा देशको यात्रा गरेर आफ्नो नाम गिनिज बुकमा दर्ता गराएकी थिइन् ।  

यसपटक एड्भेन्चरर लेक्सीले यूरोपेली ग्राहकहरुका लागि डिजाइन गरिएको नयाँ ‘अल इलेक्ट्रिक फोर्ड एक्सप्लोलर’ इलेक्ट्रिक कारमा विश्वको चक्कर लगाएकी छन् । लेक्सी यो यात्राको क्रममा ईभी कारमा ६ वटा महादेश पार गर्दै २७ देशहरु भएर ३० हजार किलोमिटरभन्दा बढीको दुरी एक्लै पार गरेकी हुन् ।  

उनले अफ्रिका महादेशमा विद्युतको अभाव,चिलीको अटाकामा मरभुमीमा चार्जिङ पूर्वाधारको अभाव,कच्ची सडक पहाड र अत्यधिक चिसो जस्ता कठिनाईहरुको सामना गर्दै यो उपलब्धी हासिल गरेकी हुन् ।  

उनले आफ्नो यात्राका क्रममा फोर्ड एक्सप्लोलर ईभी कार प्रयोग गरेकी थिइन् । जुन एउटा प्रि–प्रोडक्सन मोडल हो । यो कार युरोपेली बजारका लागि निर्माण गरिएको कार हो । युरोपमा विकास गरिएको फोर्डको पहिलो प्यासेन्जर कारमा जर्मन इन्जिनियररिङ, अमेरिकी स्टाइल र उत्तम स्ट्याण्डर्ड स्पेसिफिकेशन रहेको छ । कम्पनीले यो कारले सिंगल चार्जमा ६०२ किमी दुरी पार गर्न सक्ने दाबी गरेको छ । यो कार १० देखि ८० प्रतिशत चार्ज हुन केवल २६ मिनेट मात्रै लाग्ने कम्पनीले जनाएको छ । 

-एजेन्सी 

४ हप्ता अगाडि

प्रतिक्रिया