चीनको औद्योगिक उत्पादनमा वृद्धि

१ महिना अगाडि

 काठमाडौँ - विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनको औद्योगिक उत्पादन   पाँच महिनायता पहिलो पटक वृद्धि भएको आइतबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ । 

चिनियाँ कलकारखानाको उत्पादनको समीक्षा गर्ने पिएमआई सूचाङ्क मार्च महिनामा ५०.८ देखिएको छ । चिनियाँ तथ्याङ्क ब्यूरो (एनबीएस) का अनुसार यो सूचाङ्क गत फेब्रुअरीमा ४९.१ विन्दुमा रहेको थियो । पिएआई सूचाङ्क ५० भन्दा बढी हुनु भनेको औद्योगिक उत्पादनमा वृद्धि भएको सङ्केत हो । यसअघि चीनको पिएमआई गत सेप्टेम्बरमा मात्र देखिएको थियो ।  ब्लूमबर्गले गरेको सर्वेक्षणले पनि मार्च महिनामा चीनको औद्योगिक उत्पाद वृद्धि हुने देखाएको थियो । कोभिड महामारीका वर्षहरुमा कडा नियम लागू गरेको चीनमा पछिल्ला वर्षहरुमा घरजग्गा कारोबारमा निरन्तर सङ्कट, उच्च युवा बेरोजगारी र मुद्राप्रदायमा दबाब समेतका समस्या देखिएका थिए ।

अर्कोतिर विश्वभर नै कमजोर मागका कारण चिनियाँ सामानको माग पनि घटेको थियो ।बेइजिङले मार्च महिनाको सुरुमा सन् २०२४ मा वार्षिक वृद्धि पाँच प्रतिशत हासिल गर्ने लक्ष सार्वजनिक गरेको थियो, तर यो वृद्धिको लक्षलाई धेरै अर्थशास्त्रीले महत्वाकाँक्षी भन्दै चीनको आलोचना गरेका थिए ।चिनियाँ अधिकारीहरुले अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न उपायहरु घोषणा गरेका थिए । जसबाट मिश्रित परिणामहरु हासिल भएका थिए । तर एउटा सकारात्मक पाटोका रुपमा फेब्रुअरी महिनामा उपभोग्य मूल्यमा सामान्य वृद्धि भएको थियो । चीनको गैर-औद्योगिक उत्पादनको पिएमआई सूचाङ्क भने मार्चमा सुधार भएर ५३ विन्दुमा पुगेको छ ।

अघिल्लो महिना यस्तो पिएमआई ५१.४ विन्दुमा रहेको थियो । गत वर्ष चीनको औद्योगिक वृद्धिमा तिब्र निराशाजनक अवस्था रहेको थियो । दशककै सबैभन्दा कमजोर अवस्थामा अर्थतन्त्रको वृद्धि भएपछि सरकारले श्रृंखलाबद्ध रुपमा आर्थिक राहत प्याकेज घोषणा गरेको थियो । आधिकारिक विवरणमा सन् २०२३ मा चीनको कूल गार्हस्थ्य उत्पादन ५.२ प्रतिशत रहेको थियो । तर यस वृद्धिलाई अर्थशास्त्रीहरुले चीनले बढाइचढाइ गरेको दाबी गरेका थिए । चीनको यो वृद्धि सन् १९९० को दशक र कोभिड महामारीका वर्षहरुपछि सबैभन्दा कमजोर थियो ।


 

१ महिना अगाडि

प्रतिक्रिया