अर्थतन्त्र सुदृढ गर्न नक्कली बिल र नक्कली स्टिकरको प्रयोग अनुगमन गर्न प्रधानमन्त्रीको आदेश

१ महिना अगाडि

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजस्व चुहावट रोक्दै अर्थतन्त्र सुदृढ गर्न नक्कली बिल जारी गर्ने र नक्कली स्टिकरको प्रयोग भइरहेको स्थितिबारे अनुगमन गरी नियन्त्रणका लागि आवश्यक कदम चाल्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा आज आयोजित राजस्व वृद्वि तथा चुहावट नियन्त्रणसम्बन्धी बैठकमा प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र अर्थ मन्त्रालयका अधिकारीलाई प्रधानमन्त्री दाहालले उक्त निर्देशन दिएका हुन्। बैठकमा प्रधानमन्त्री दाहालले भने, “राजस्व चुहावट र अवैध व्यापारिक कारोवारमा हुने ‘सेटिङ’ भत्काउने कार्यलाई प्राथमिकता दिनूहोस्, झुटा तथा नक्कली बिल बीजक र स्टिकरको प्रयोग भइरहेको सूचना आएको छ।

त्यसको अनुगमन गर्नूस् र एक्सन लिनूस् ।”प्रधानमन्त्री दाहालले नयाँ गतिका साथ काम गर्ने अठोट लिएर सरकार पुनर्गठन गरिएको उल्लेख गर्दै सोही अनुरुप क्रियाशील हुन निर्देशन दिए । उनले भने, ‘‘सरकारले नयाँ गतिका साथ काम गर्ने अठोट लिएको छ । मुलुकको समृद्धिको बाधकका रुपमा रहेका भ्रष्टाचार, तस्करी र राजस्व छलीलाई निर्ममतापूर्वक हटाउनैपर्छ । 

जनतामा पैदा गरिएको निरासालाई हटाउनुपर्छ। यसका लागि विगतका परम्परागत प्रशासनिक कार्यशैली, व्यवहार र चिन्तनबाट सम्भव छैन । नयाँ सोचसहित अगाडि बढौं ।”आन्तरिक बजारलाई व्यवस्थित तुल्याउँदै बिल लिने–दिने प्रणाली प्रभावकारी बनाउनसमेत प्रधानमन्त्री दाहालले निर्देशन दिए । उनले भने “आन्तरिक बजारमा बिल लिने–दिने प्रणाली प्रभावकारी भएको छैन । कारोवारलाई आवश्यकताअनुसार प्रविधिमा रुपान्तरण गर्न सकिएको छैन । यस सम्बन्धमा सम्बन्धित राजस्व कार्यालयले नियमित बजार अनुगमन गर्ने र सो को रिपोर्टिङ गर्ने व्यवस्था मिलाउनूहोस् । कर प्रशासनका सबै कार्यलाई पूर्ण प्रविधिमैत्री बनाउनेतर्फ ध्यान दिनूहोस् ।” 

१ महिना अगाडि

प्रतिक्रिया