देवघाटदेखि खोटाङको हलेसीसम्म मोटर र्‍याली हुने

३ हप्ता अगाडि

काठमाडौँ- धार्मिक क्षेत्र देवघाटदेखि खोटाङको हलेसीसम्म मोटर र्‍याली हुने भएको छ ।
मोटर स्पोर्ट्स अन्तर्गत पर्ने रेसिङ्ग विधाको टिडिएस र्‍यालीसहित अटो जिमखाना प्रतियोगिता पनि यो क्रममा सम्पन्न हुने आयोजकहरुले जानकारी दिएका छन् ।

नेपाल अटो मोबाइल एसोसियसन (नासा) र चितवन अटोमोबाइल डिलर्स एसोसियसनले संयुक्त रुपमा यो कार्यक्रम गर्न लागेका हुन् । र्‍याली बैशाख ५ गते बिहान देवघाटबाट सुरु हुने छ । प्रतियोगिताबारे जानकारी दिन सोमबार भरतपुरमा भएको पत्रकार सम्मेलनमा नासा बागमती प्रदेशका अध्यक्षसमेत रहेका चितवन अटोमोबाइल डिलर्स एसोसियसनका अध्यक्ष राजन पियाले टिडिएस र्‍यालीमा २५ देखि ३० जना ड्राइभर र अटो जिमखाना प्रतियोगितामा १५ देखि २० जना ड्राइभर सहभागि हुने जानकारी दिए । विजेतलाई शिल्ड, प्रमाणपत्र र आकर्षक पुरस्कारको व्यवस्था गरेको उनले बताए । टाइम (समय), डिस्ट्यान्स (दुरी), र स्पीड (गति) अर्थात टिडिएस र्‍याली अन्तर्गत गन्तब्यसम्म पुग्नका लागि विभिन्न चेक प्वाइन्टहरु निर्धारण गरी बाटोको प्रकृति हेरेर एभरेज स्पीड तय गरिएको हुन्छ । सहभागिमध्ये जो आयोजकहरुले दिएको एभरेज गतिमा समयमै गन्तब्यमा पुग्दछ टिडिएस र्‍यालीको विजेता उही हुने अध्यक्ष पियाले बताए ।
देवघाटदेखि हलेसीसम्म ३२७ किलो मिटरको दुरीमा टिडिएस र्‍याली हुने छ । टिडिएस र्‍यालीको रुट देवघाट, हेटौंडा, सिन्धुली, खुरकोट, घुर्मी, हिलेपानी, फाप्लु – हलेसी हुने छ । त्यसैगरी खोटाङ हर्कपुरको सुनकोशी किनारमा अटो जीमखाना प्रतियोगिता हुने छ ।

अटो जिमखाना मोटर रेसिङको सर्ट सर्किट विधा हो, कलात्मक रुपले छोटो र साँघुरो अस्थायी सर्किट डिजाइन गरिएको हुन्छ । जुन सर्किटमा ड्राइभरहरुले आफ्नो कला, साहस र सिर्जना प्रस्तुत गर्ने पियाले बताए । खोटाङको हर्कपुर सुनकोशी किनारमा जिमखाना प्रतियोगिता सञ्चालन हुने उनको भनाइ छ । र्‍यालीको अघिल्लो दिन सहभागि ड्राइभरहरुलाई पुर्व प्रशिक्षण पनि दिने आयोजकले बताए । र्‍यालीमा देशभरका ड्राइभरहरुले भाग लिन पाउने छन् । कार्यक्रममा प्रतियोगी ड्राइभर, मार्शलहरु, अन्य प्राविधिकसमेत गरेर १२४ जना जतिले भाग लिने अपेक्षा गरेको अध्यक्ष पियाले बताए । दुई रात तीन दिन लाग्ने यस कार्यक्रमको समापन ओखलढुंगाको ढापमा हुने आयोजकहरुले बताएका छन् ।

३ हप्ता अगाडि

प्रतिक्रिया