यस साता सुनको मूल्यमा नयाँ रेकर्ड: कस्तो रह्यो कारोबार ?

४ हप्ता अगाडि

काठमाडौँ । गत साता जस्तै यो साता पनि सुनचाँदीको मूल्यले नयाँ कीर्तिमानी कायम गरेको छ। नेपाली बजारमा सुनको भाउ यस साता ऐतिहासिक रेकर्डमा पुगेको हो। 

बिहीबारका दिन सुन तोलाको एक लाख ३४ हजार रुपैयाँ तोकिएर हालसम्मकै महँगो मूल्यमा कारोबार भएको छ । यसर्थ यस साता सुनको मूल्य बढेको छ। साताको पहिलो दिन सुन प्रतितोला एक लाख ३० हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

आइतबारको तुलनामा दोस्रो दिन सोमबार पनि मूल्य बढेकोमा मङ्गलवार सामान्य घटेको थियो। यसै गरी, बुधवारदेखि पुनः बढेर बिहीबार हालसम्मकै उच्च अर्थात् प्रतितोला एक लाख ३४ हजार रुपैयाँ पुग्यो। साताको अन्तिम कारोबार भएको दिन शुक्रवार भने मूल्य सामान्य घटेर प्रतितोला एक लाख ३२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । 

यो साता नेपाली बजारमा चाँदीको मूल्यले पनि रेकर्ड कायम गरेको छ । साताको दोस्रो दिन सोमबार प्रतितोला एक हजार ५२५ रुपैयाँ कायम रहेको थियो। यो मूल्य पाँचौँ दिन बिहीबार रेकर्ड कायम गर्दै प्रतितोला एक हजार ६५० रुपैयाँमा कारोबार भएको छ । जुन शुक्रवार सामान्य घटेर प्रतितोला एक हजार ६१५ रुपैयाँमा झरेको हो ।

नेपाली बजारमा मात्रै नभएर अन्तर्राष्ट्रिय बजारमा समेत यो साता सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । साताको तेस्रो दिन सामान्य घटेको मूल्य त्यसपछिका दिनमा क्रमशः बढेर साताको पाँचौँ दिन अर्थात् शुक्रवार भने हालसम्मकै उच्च मूल्य कायम भएको छ ।
 

४ हप्ता अगाडि

प्रतिक्रिया