आठौँ संस्करणको विराट गोल्डकप फुटबल उपाधि मच्छिन्द्र फुटबललाई

३ हप्ता अगाडि

काठमाडौँ । मच्छिन्द्र फुटबल क्लबले आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। शनिवार विराटनगरको सहिद रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले साङ्ग्रिला फुटबल क्लब मोरङलाई २- ० ले पाखा लगाउँदै उपाधिमा कब्जा जमाएको हो।

प्रतियोगिताअन्तर्गत शनिवार राति भएको निर्धारित ९० मिनेटको खेलमा दुवै समूहबाट गोल हुन नसकेपछि अतिरिक्त समयमा मच्छिन्द्र चम्किएको हो । खेलको ११३ औँ मिनेटमा मच्छिन्द्रका छिरिङ गुरुङ र ११९ औँ मिनेटमा युसुप थपलियाले गोल गरेका हुन्। उपाधिसँगै मच्छिन्द्र क्लबले रु ११ लाख र साङ्ग्रिलाले रु पाँच लाख ५० हजार नगद पुरस्कार प्राप्त गरेका छन्।

प्रतियोगिताका प्लेयर अफ द म्याच मच्छिन्द्रका लाकेन लिम्बू, सर्वोत्कृष्ट खेलाडी साङ्ग्रिलाका महेन्द्र कार्की, उत्कृष्ट गोलरक्षक मच्छिन्द्रका विशाल श्रेष्ठ, उत्कृष्ट प्रशिक्षक मच्छिन्द्रका सन्तोष न्यौपाने र सर्वाधिक गोलकर्ता मछिन्द्रका स्टेफन विनोङले जनही रु २१ हजार नगद पुरस्कार पाएका छन्।

प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की र अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र विराट गोल्ड कप ट्रस्टका अध्यक्ष किशोर शाहीले पुरस्कार प्रदान गरेका हुन । 

३ हप्ता अगाडि

प्रतिक्रिया