उम्मेदवारी मनोनयन दर्ता गराएका विरुद्ध आज उजुरी दर्ता र जाँचबुझ हुँदै

उपचुनाव तयारी

३ हप्ता अगाडि

काठमाडौँ–  (हिजो) शनिवारका दिन उपचुनावका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका विरुद्ध आज उजुरी दर्ता र जाँचबुझ हुने भएको छ। बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दिने, दिउँसो ३ बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन पत्र र उजुरीको जाँचबुझ गरी निर्णय गर्ने कार्यसूची रहेको निर्वाचन आयोगले जनाएको छ।

त्यस्तै भोली उम्मेदवारको नामावली प्रकाशन, पर्सी नाम फिर्ता र अन्तिम नामावली प्रकाशन गरी चुनाव चिन्ह दिने कार्यसूची रहेको आयोगको भनाई छ। आउँदो वैशाख १५ गते इलाम–२ र बझाङ प्रदेशसभा १ (क) मा उपचुनाव हुँदै छ । उपचुनावका लागि हिजो मनोनयन दर्ता भएको हो ।

विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ३२ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । इलाम क्षेत्र नम्बर–२ मा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी २० जनाको उम्मेदवारी दर्ता भएको छ । संविधानसभा अध्यक्ष तथा एमाले नेता सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदका लागि उपचुनाव हुन लागेको हो ।

उपचुनावका लागि इलाम–२ मा ७९ मतदान स्थल र एक सय ४९ मतदान केन्द्र रहेको निर्वाचन आयोगले जनाएको छ । इलाम–२ मा झन्डै एक लाख १५ हजार आठ सय मतदाता छन् । त्यस्तै बझाङ प्रदेशसभा–१ (क) को उपचुनावका लागि विभिन्न राजनीतिक दलबाट १२ जनाको उम्मेदवारी परेको छ । बझाङ प्रदेशसभा १ (क) बाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएकाले त्यहाँ उपचुनाव हुन लागेको हो । आयोगले बझाङमा प्रदेशसभा सदस्य चुनावका लागि ७४ मतदान स्थल र ९३ मतदान केन्द्र तोकेको छ । 

३ हप्ता अगाडि

प्रतिक्रिया