इलाम–२ मा कसले मार्ला बाजी ?

४ हप्ता अगाडि

काठमाडौं– ईलाम–२ को उपनिर्वाचनमा अहिले मुलुककै ध्यान आकृष्ट भएको छ । उक्त निर्वाचनमा १२ राजनीतिक दलबाट १२ र ८ स्वतन्त्र उम्मेदवार गरी जम्मा २० जनाको मनोनयनपत्र दर्ता भएको थियो । जसमध्ये एक जनाले उम्मेदवारी फिर्ता लिएपछि १९ जनाको अन्तिम नामावली प्रकाशन भई चुनाव चिह्नसमेत प्रदान गरिएको छ ।
अहिलेको निर्वाचनमा परम्परागत राजनीतिक दलहरु भन्दा फरक दलहरु मैदानामा देखिएका छन् ।  नेपाली कांग्रेस र एमालेको मुख्य प्रतिष्प्रधा हुँदै आएकोमा यसपटक रास्वपासँगै पहिचानवादीका तर्फबाट उठाइएका स्वतन्त्र उम्मेदवार पनि थपिएका छन् । उनीहरुलाई पनि बलियो प्रतिस्पर्धी मानिएको छ । किनभने ईलाम(२ पहिचानवादीहरुको पकड क्षेत्र मानिन्छ । यसै क्षेत्रमा पर्ने माङसेबुङ गाउँपालिकाको लारुम्बामा किरात धर्मगुरु आत्मानन्द लिङ्गदेनको बसोवास छ । यो ठाउँलाई पहिचानवादीहरुले तीर्थस्थलजस्तै मान्ने गरेका छन् । त्यसो त, पहिचानविरोधी पार्टीको आरोप खेपिरहेको नेकपा एमालेको प्रभाव क्षेत्र पनि मानिन्छ ईलाम । स्वर्गीय सुवास नेम्वाङले पटक(पटक जितेको क्षेत्र हो, ईलाम–२ । यहाँ नेपाली कांग्रेसको पनि राम्रै प्रभाव छ । गत आमचुनावमा सुवास नेम्वाङको मुख्य प्रतिस्पर्धीमा काँग्रेसका डम्बर खड्का थिए । नेम्वाङले जम्मा ११४ मतको अन्तरले चुनाव जितेका थिए । त्यतिबेला माओवाद, कांग्रेस र एकीकृत समाजवादी लगायतका दलको गठबन्धन थियो । अहिले माओवादीले एमाले उम्मेदवार सुहाङलाई समर्थन गरेको छ । उता रवि लामिछानेको घण्टी पार्टीप्रति पनि मतदाताको आकर्षण देखिन्छ भने पहिचानवादीको पनि राम्रै प्रभाव रहेको छ । 

यस निर्वाचनमा समाजवादी मोर्चाको अध्यक्ष रहेका विप्लवको पार्टीले एमाले उम्मेदवार नेम्वाङलाई सघाएको छ । अर्को सत्तारुढ जसपाले भने स्वतन्त्र उम्मेदवार थेगिमलाई सघाउने निर्णय गरेको छ । मधेशमा पहिचानको वकालत गर्दै आएको सिके राउतको जनमत पार्टीले अब पहाडमा पनि पहिचानको मुद्दालाई बलियो बनाउने भन्दै प्रेमदिप थाम्सुहाङ लिम्वुलाई उम्मेदवार बनाएको स्थिति छ । 

यसैगरी पार्टी राप्रपाबाट लक्ष्मी गुरुङ, राप्रपा नेपालबाट गणेश बहादुर चौहान, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, नेपाली जनता दलबाट रेशम बहादुर सुनार, नेश्नल रिपब्लिकन पार्टीबाट धनराज रानामगर उम्मेदवार छन् । 

निर्वाचनमा मंगोल नेश्नल अर्गनाइजेशनका मनिबहादुर लिम्बू यसपटक पनि चुनावी मैदानमा होमिएका छन् । राष्ट्रिय मुक्ति आन्दोलन दलबाट जयवन्त विक्रम शाह अघि सरेका छन् भने अर्जुनकुमार शाही, केशवकुमार चापागाई, दिपेश बोहरा, मनोज निरौला, योगेन्द्र गुरुङलगायत स्वतन्त्र उम्मेदवार छन् । 

पहिचान पक्षधर समूहका साझा उम्मेदवार डेगेन्द्रसिंह थेगिमले आफ्नो जित्ने आधार नै ुपहिचानको आन्दोलनु भन्दै आएका छन् । ईलाम(२ किरात–लिम्वुवान प्रदेशको मुख्य आधार ईलाका भएकाले आफ्नो जित निश्चित रहेको उनको दाबी छ । आफूले चुनाव जिते कोशी प्रदेशको नाम सच्याएर किरात–लिम्वुवान राख्न बल पुग्ने पनि उनको विश्वास छ ।   

२०७९ को निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठवन्धनबाट भिडेका कांग्रेसका डम्बरबहादुर खड्कालाई एक्लै प्रतिश्पर्धामा उत्रिएका सुवास नेम्वाङले १ सय १४ मतको झिनो अन्तरले हराएका थिए । नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार ९ सय ६ मत पाए थिए ।  रास्वपाबाट प्रकाश सापकोटाले १ हजार ३ सय ८० मत पाएका थिए । यस पटकको निर्वाचनमा शक्ति सन्तुलन फेरिएकोले कसले बाजी मार्छ यसै भन्न सकिने अवस्था छैन । सहानुभूतिको मत पाउने आशा गरेर एमालेले सुवासका छोरालाई उम्मेदवार बनाए पनि उनी माथि वंशवादको आरोप लागेको छ । 

४ हप्ता अगाडि

प्रतिक्रिया