काठमाडौँ महानगरले उद्यमीलाई उत्पादन र बजारसँग जोड्दै

२ हप्ता अगाडि

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले उद्यमशील महिलालाई विभिन्न किसिमको सीप मुलुक तालिम, व्यावसायिक सिकाई जस्ता रोजगारमूलक कार्यक्रममार्फत उत्पादन र बजारसँग जोड्ने भएको छ । 

महानगरले ३२ वटै वडामा एक वडा एक नमुना उद्यमशीलता कार्यक्रम सुरु गरेको छ । महानगरपालिकाले ‘एक वडा एक नमुना उद्यमशीलता, आफ्नै सीपमा मौलिक पन, आत्मनिर्भर उद्यमी, हाम्रै्र लगानी, हाम्रै श्रम’ नारासहित उक्त कार्यक्रमको थालनी गर्न लागेको हो । महानगरपालिकाले महानगरभित्रका ३२ वडाका उद्यमशील बन्न चाहने महिला तथा पुरुषहरूको लागि उद्यमशील तालिम कार्यक्रम सुरुवात गरेको छ । पहिलो चरणमा १६ वटा वडाहरूमा योजना बनाइरहेको छ । १६ वडा वडाको सिकाई, अनुभवको आधारमा ३२ वटावडाहरुमा एक वडा एक नमुना उद्यमशीलता कार्यक्रम लैजाने योजना बनाएको छ । महानगरले गर्ने उद्यमशील तालिम ३२ वटामा फरक–फरक किसिमका हुनेछन् ।

उद्यमशीलता प्रवद्र्धनमार्फत दिगो र समावेशी अर्थतन्त्रको आधार सिर्जना गर्न उद्देश्यले काठमाडौँ महानगरले हरेक वडामा एक वडा एक नमुना उद्यमशीलता कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ । काठमाडौँ महानगर भित्रका महिला उद्यमशीलतामार्फत उत्पादन वृद्धि गरी बजारसँग जोड्ने महानगरको योजना रहेको जनाएको छ । महानगरले महिला उद्यमीद्वारा उत्पादन बस्तुहरूलाई बजारको प्रवर्द्धन गर्ने योजनामा छ । निर्वाचनको बेलामा जनप्रतिनिधि भए महिलालाई आत्मनिर्भर बनाउने उद्यमशील तालिमको योजना बनाउने भनी गरेका प्रतिबद्धतालाई महानगरपालिकाले कार्यान्वयनमा ल्याउन लागेको हो । काठमाडौँ महानगरलाई कृषिजन्य, काष्ठ र माटोजन्य वस्तु उत्पादनमा आत्मनिर्भर महानगर बनाउन सिपमूलक तालिमसहित प्राविधिक समेत दिएर उद्यमी बनाउने उद्देश्य रहेको काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताइन् ।

उनले महानगरका ३२ वटै वडाभित्र उद्यमी बन्न चाहनेहरूलाई फरक–फरक सीपको तालिम दिने र फरक–फरक उत्पादन गरी उत्पादनलाई बजारसँग जोडिने उल्लेख गरिन् । उपप्रमुख डंगोलले उद्यमशील तालिममा महिला उद्यमी मात्रै नभएर पुरुष उद्यमीहरू पनि जोडिन सक्ने जानकारी दिइन् । उनले महानगरका हरेक वडामा फरक–फरक किसिमको तालिमका लागि मात्रै नभएर तालिम लिएको क्षेत्रमा विज्ञ बनाएर उद्यमी बनाउने गरी उनीहरूलाई तालिम दिने योजना र कार्यक्रम बनाएको दाबी गरिन् । उनले भनिन्,‘३२ वटै वडाभित्र फरक–फरक उत्पादन गर्ने र उत्पादनलाई बजारसँग जोड्ने उद्देश्य छ । यसमा महिलाहरूको लागि मात्रै नभएर पुरुषहरूको पनि सहभागिता छ । हरेक वडामा फरक–फरक किसिमको तालिम दिँदैछौं । तालिमको लागि तालिम मात्रै नभएर जान्दै नजान्नेलाई त्यही क्षेत्रमा विज्ञगरी उनीहरूलाई तालिम दिने योजना र कार्यक्रम बनाएका छौँ ।’

उपप्रमुख डंगोलले उद्यमशील तालिम लिने तर उद्यमीहरूले उत्पादन गरेका वस्तुले बजार नपाउँदा उद्यमशीलता हराउँदै गएको पाइएको बताइन् । उनले महानगरले उद्यमशीलतालाई थप प्रवर्द्धन गरी सीप मुलुक तालिम लिएका उद्यमीको उत्पादनलाई बजारसँग जोडेरउनीहरुलाई उद्यमी बनाउने कार्यक्रम रहेको बताइन् । काठमाडौँ महानगरले उद्यमी बनाएर उत्पादित वस्तुलाई बजारसँग जोड्ने, गुणस्तर कायम गर्ने र उत्पादनहरूमा बढी जोड दिने लक्ष्य लिएको छ । ३२ वटामा नै उद्यमी जन्माउनको लागि महानगर अन्य निकायहरूसँग पनि सहकार्य र समन्वय गरी काम गर्ने गरी योजना बनाइरहेको छ । महानगरले उद्यमशील तालिम दिनु ठुलो कुरा नभएको भन्दै उपप्रमुख डंगोलले व्यवहारमा ल्याएर दिगो र प्रभावकारी रूपमा उत्पादन गर्नु अहिलेको चुनौती रहेको दाबी गरिन् ।   उनले यस्ता चुनौतीलाई चिर्नको लागि महानगरले एक वडा एक नमुना उद्यमसिलता कार्यक्रमबाट धेरैले उपलब्धि लिने बताइन् । 

२ हप्ता अगाडि

प्रतिक्रिया