दुई महिनापछि बजाजको पहिलो सीएनजी मोटरसाइकल सार्वजनिक हुँदै

२ हप्ता अगाडि

काठमाडौं - भारतीय मोटरसाइकल निर्माता कम्पनी बजाज अटोले आफ्नो पहिलो सीएनजी मोटरसाइकल भारतीय बजारमा दुई महिनापछि सार्वजनिक गर्ने भएको छ ।

बजाजका म्यानेजिङ डाइरेक्टर (एमडी) राजीव बजाजले सीएनजी मोटरसाइकल आगामी जुनमा सार्वजनिक गर्ने बताएको भारतीय संचार माध्यमहरूले उल्लेख गरेका छन् । औरंगाबाद प्लान्टमा उत्पादन भएको यस मोटरसाइकलले पेट्रोलबाट चल्ने प्लाटिना र सीटीकोभन्दा धेरै माइलेज दिने कम्पनीले बताएको छ । कम्पनीका अनुसार १ केजी सीएनजीको माध्यमबाट यस मोटरसाइकलमा १०० देखि १२० किलोमिटर रेन्ज पाउन सकिने अनुमान गरिएको छ ।

यो मोटरसाइकलमा ११० सीसी क्षमताको इन्जिन हुने अनुमान गरिएको छ । जसले अधिकतम ८.६ पीएस पावर र ९.८१ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स दिइने बताइएको छ । बजाजको सीएनजी मोटरसाइकलमा बायोफ्युल सेटअपका साथै पेट्रोलबाट सीएनजीमा परिवर्तन गर्नका लागि स्वीच दिइने छ । यसले मोटरसाइकलमा फ्युल परिवर्तन गर्न निकै सहज हुने देखिन्छ ।

यस मोटरसाइकलमा पेट्रोल ट्याकंको मुनिपट्टीको भागमा सीएनजी ट्याकं सेटअप दिइने छ । यो मोटरसाइकलमा ट्युबलेस टायर, १७ इन्चको ह्वील, फ्रन्टमा डिस्कब्रेक र रियरमा ड्रमब्रेक, सस्पेन्सन सेटअपमा अगाडि टेलिस्कोपिक फर्क र पछाडि मोनोसक हुने छ । यो एबीएस र ननएबीएस दुई भेरियन्टमा उपलब्ध हुने अनुमान गरिएको छ । यसमा सेमी डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल र एलईडी हेडलाइट सेटअप रहेको छ । यसको डिस्प्लेमा गियर इन्डिकेटर, गियर गाइडेन्स, एबीएस इन्डिकेटरको डिटेल्स पनि देख्न सकिन्छ ।

२ हप्ता अगाडि

प्रतिक्रिया