नेपालबाट एक अर्ब बढिको अम्रिसो निर्यात

२ हप्ता अगाडि

काठमाडौं- चालू आर्थिक वर्षको नौ महिनामा नेपालले एक खर्ब १३ अर्ब ९४ करोड ६० लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गरेको छ । नेपालको आयातको तुलनामा अत्यन्तै कम देखिएको निर्यातमा पनि केही सीमित वस्तुहरूको मात्र ठूलो योगदान रहेको देखिन्छ ।  

निर्यात रकमको आधारमा आइरन तथा स्टिल निर्यात सर्वाधिक बढि रहेको तथ्यांकले देखाएको छ । यस अवधिमा भारत तर्फ आइरन तथा स्टल ८ अर्ब ५३ करोड ६० लाख ४८ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । त्यस्तै, सर्वाधिक निर्यात हुने दोस्रोमा कार्पेट तथा अन्य गलैचाहरुको हिस्सा रहेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको नौ महिनाको तथ्यांक अनुसार यस अवधिमा सात अर्ब ८१ करोड ६९ लाख ९३ हजार रुपैयाँ बराबरको कार्पेट तथा गलैचा निर्यात भएको छ । यी वस्तुहरू विभिन्न मुलुकहरूमा निर्यात गरिएको तथ्यांकमा उल्लेख छ । नेपालबाट सबैभन्दा बढि चीन, फ्रान्स, बेल्जियम, जर्मनी, इटाली, रुस, स्वीजरल्याण्ड र अमेरिकामा निर्यात भएको छ । 
त्यसैगरि, नौ महिनामा निर्यात हुने ‘टप टेन’को सूचीमा अर्को अलैँची रहेको छ । यस अवधिमा ६ अर्ब २८ करोड ३१ लाख ४० हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ । नेपालको निर्यातको आकारलाई ठूलो बनाउने लामो समयदेखि भूमिका खेल्दै आएको पाम तेल ५ अर्ब ६९ करोड १८ लाख ८१ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । 

चालू आवको अवधिमा ५ अर्ब ९७ करोड ४९ लाख ३३ हजार रुपैयाँ बराबरको धागो निर्यात भएको छ । मिक्स जुसहरूको पनि निर्यातमा उल्लेखनीय हिस्सा देखिएको छ । ४ अर्ब ५१ करोड २३ लाख ४८ हजार रुपैयाँ बराबरका मिक्स जुस विभिन्न सात वटा मुलुकमा निर्यात भएको छ ।

चालू आवको नौ महिनामा विभिन्न प्रकारका प्वाँख तथा भुवाजन्य वस्तुहरू ३ अर्ब २४ करोड ३० लाख ३० हजार रुपैयाँ बराबरको निर्यात भएको छ । नेपालबाट जुटको डोरी २ अर्ब ९९ करोड ३० लाख ४ हजार रुपैयाँ बराबरको भारत र कतारमा निर्यात भएको छ । अन्य काठ जन्य सामाग्री पनि २ अर्ब ९६ करोड २८ लाख बराबरको निर्यात भएको भन्सारको तथ्यांकमा उल्लेख छ । २ अर्ब ३१ करोड ६६ लाख ७६ हजार रुपैयाँ छुर्पी, विभिन्न प्रकारका तेलहरू २ अर्ब १४ करोड ५ लाख ८८ हजार, कुचो १ अर्ब ११ करोड ७३ लाख ९५ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । कुचो भने नेपालबाट भारतमा निर्यात भएको छ । निकै चर्चामा रहेको चिया भने २ अर्ब ३४ करोड ४ लाख ७८ हजार रुपैयाँको मात्रै निर्यात भएको छ । जसको निर्यातमा भारतले अवरोध खडा गर्दै दुख दिएका कारण पूर्वका किसानहरू अहिले पिडामा छन् । चालिस भन्दा बढि चिया लोड गरिएका ट्रकहरू मेची भन्सार आसपास सडकमा केही दिन यता थन्किएर बसेका छन् । 

नेपालबाट कत्था १ अर्ब ३९ करोड ९६ लाख ३१ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । चालू आवको नौ महिनामा तयारी सिमेन्ट र क्लिंकर निर्यात हुँदा त्यसबाट २ अर्ब ९७ करोड ४६ लाख ४ हजार रुपैयाँ बराबरको निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।       

 

२ हप्ता अगाडि

प्रतिक्रिया