सहकारीले बैंकभन्दा ठुलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी

१ हप्ता अगाडि

काठमाडौँ - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी संस्थाहरूले बैंकभन्दा ठुलो वित्तीय कारोबार गर्ने प्रतिस्पर्धा गर्दा समस्या सिर्जना भएको बताएका छन् । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले आयोजना गरेको दोस्रो लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा प्रमुख अतिथिका रूपमा बोल्दै मन्त्री अधिकारीले सहकारीहरू आफ्नो मूल्य मान्यता र सिद्धान्त विपरीत अस्वस्थ प्रतिस्पर्धामा लाग्दा समस्या सिर्जना भएको बताएका हुन् । जुन उद्देश्यका साथ सहकारी स्थापना भएको थियो त्यसको खिलाफ गर्दै काम भइरहेको धारणा उनको छ । ‘सहकारीहरू बैंकभन्दा ठुलो कारोबार गर्ने अभ्यासमा लागे, सहकारीको मूल्य मान्यता विपरीत काम गर्न थाले, बचतकर्ताको बचतलाई दुरुपयोग गर्ने अधिकार कसैलाई पनि हुँदैन । सहकारीमा आबद्धहरूले नै समाधान गर्ने हो, सरकारले सल्लाह दिने हो, यो बाटो जाऊ भन्ने हो । सरकारले समस्या समाधान गर्ने होइन’, उनले भने ।

सदस्यले पनि सबै कुराको जिम्मा सञ्चालकलाई दिन नहुने धारणा राख्दै मन्त्री अधिकारीले भने,  ‘शिक्षक, डाक्टर तथा वकिल सबै यो क्षेत्रमा छन् । सर्वप्रथम मेरो कर्तव्य के हो बुझ्नुपर्छ, त्यो बुझ्न सकियो भने यो समस्या आउँदैन ।'मन्त्री अधिकारीले सहकारीमा समस्या आउनुमा संस्थाको लेखा सुपरिवेक्षण समिति पनि जिम्मेवार रहेको बताए । कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दवाडीले अर्थतन्त्रको एउटा महत्त्वपूर्ण खम्बामा धमिरा लागेको धारणा राखे । उनले सहकारी अभियान भुमरीमा परेको बताए ।

‘सहकारीहरूले के कस्तो काम गरेका छन्, के कस्तो कमी कमजोरी गरेका छन्, आत्म समीक्षा गर्ने बेला भएको छ । अर्थतन्त्रमा ठुलो योगदान पुर्‍याएको क्षेत्र अहिले आफैँ ठुलो समस्यामा छ । यसले अर्थतन्त्रमै ठुलो असर पुर्‍याउन सक्छ । यस विषयमा हामी सबै सजग बन्नुपर्छु उनले भने । सदस्यहरूले पनि आफ्नो भूमिका निर्वाह गर्नु पर्ने उनको भनाइ छ । सहकारी क्षेत्रमा लामो समयदेखि समस्या रहेको बताउँदै विगतका अभ्यासहरूबाट पाठ सिकेर पनि अगाडि बढ्नु पर्ने उनले बताए ।

‘अहिले सबैलाई समस्या छैन, आफूले आफूप्रति विश्वास गरौँ, यो गम्भीर सवाल हो, अर्थतन्त्रको उतारचढावले पनि असलमा पनि खराब मनसाय सिर्जना हुन सक्छ । संस्थाले राम्रो भनेको कर्जा पनि खराब निस्कन सक्छ, त्यसैले हरेक विषयमा गम्भीर भएर निर्णय लिनुपर्छ । धेरै आन्तरिक समस्या छन्’, सचिव दवाडीले भने । यस्तै, सहकारी विभागका रजिस्ट्रार पीताम्बर घिमिरेले सहकारीको खोल ओढेर बदमासी गर्नेलाई कानुनी कारबाही गरेर छाड्ने बताए । उनले सहकारीको प्रभावकारी नियमनका लागि  वैशाख मसान्तभित्रै ऐनको मस्यौदा सार्वजनिक गर्ने बताउँदै अब सहकारी देखाएर गलत गर्नेलाई कारबाही गरेरै छाड्ने बताए । 
 

१ हप्ता अगाडि

प्रतिक्रिया