मारुतीले गुमायो लोकप्रिय कारको उपाधि

१ हप्ता अगाडि

काठमाडौं - भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुती सुजुकीले अहिले सबैभन्दा लोकप्रिय कारको उपाधि गुमाएको छ । यो दौड टाटा मोटर्सले जितेको हो  ।

भारतीय कार उद्योगमा सबैभन्दा ठूलो अपसेटहरूमध्ये एकमा टाटाको मिनी एसयूभी पन्च देशको सबैभन्दा धेरै बिक्री हुने मोडेल बनेको छ । यसले मारुतीका लोकप्रिय मोडल वागनआर, स्विफ्ट र ब्रेजालाई पछि पारेको छ । पन्चले मार्च २०२४ मा पहिलोपटक यो उपाधि हासिल गरेको छ। मार्चमा कुल १७ हजार ५ सय ४७ पन्च बिक्री भएको थियो भने वागनआर १६ हजार ३ सय ६८ यूनिटका साथ तेस्रो स्थानमा रह्यो ।

उद्योग विश्लेषकहरूका अनुसार हुन्डाईको एसयूभी क्रेटा मार्चमा बिक्रीको हिसाबले दोस्रो स्थानमा रह्यो । यसको बिक्री कुल १६ हजार ४ सय ५८ यूनिट रह्यो । पन्चले अप्रिलमा उही उपलब्धि दोहोर्‍यायो । वागनआरको १७ हजार ८ सय ५० यूनिटको तुलनामा यसको बिक्री १९ हजार १ सय ५८ यूनिट रह्यो । मारुतीको ब्रेजा एसयूभी १७ हजार १ सय १३ युनिटका साथ तेस्रो स्थानमा रह्यो । मारुती कार देशको सबैभन्दा बढी बिक्री हुने कारमा नपरेको विरलै देखिने गरेको छ ।

जसरी पन्चले लगातार दुई महिना शीर्ष स्थान हासिल गरेको छ, त्यसले आगामी दिनमा पनि यो क्रम जारी राख्ने देखिन्छ । यी तथ्यांकले भारतीय कार उद्योगको बदलिँदै गरेको चित्र झल्काउँछ । टाटा मोटर्सले पछिल्ला केही वर्षहरूमा धेरै परिवर्तन गरेको छ । आज यो मारुती र हुन्डाईपछि बिक्रीको हिसाबले देशको तेस्रो ठूलो कम्पनी बनेको छ । कम्पनीले पन्च, नेक्सन, टियागो र अल्ट्रोज जस्ता मोडलहरूसँग उत्कृष्ट पुनरागमन गरेको छ ।

 


 

१ हप्ता अगाडि

प्रतिक्रिया