पूर्वबजेट तयारीका सम्बन्धमा प्रदेश सरकारका सचिवहरूसँग छलफल

१ हप्ता अगाडि

काठमाडौँ- पूर्वबजेट तयारीका सम्बन्धमा कोशी प्रदेश सरकारले प्रदेश सरकारका सचिवहरूसँग छलफल गरेको छ । कोशी प्रदेश सभाको अर्थ समितिले प्रदेश सभा सचिवालयमा हिजो प्रदेश सरकारका प्रमुख सचिव तथा अन्य मन्त्रालय र आयोगका सचिवहरूसँग पूर्व–बजेटको तयारीबारे छलफल गरेको हो ।

कोशीमा चालु आर्थिक वर्षका लागि तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले २०८० जेठ ३२ गते अध्यादेशमार्फत ३६ अर्ब २४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका थिए । यो बजेट अध्यादेश संसदमा टेबल भएर पनि पारित हुन नसकेपछि २०८० भदौको दोस्रो हप्तादेखि बजेट होलिडे शुरु भएको थियो । १२ दिनसम्मको बजेट होलिडेपछि पुनः भदौ २३ गते दोस्रो पटक संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री बनेका कार्कीले अर्को अध्यादेशबाट बजेट ल्याएका थिए । यो बजेटलाई प्रतिस्थापन गर्दै केदार कार्की नेतृत्वको सरकारले प्रदेश सभामा पेस गरेको प्रतिस्थापन विधेयक २०८० मङसिर १३ गते पारित भएको थियो । अब आउँदो आर्थिक वर्षका लागि २८ अर्ब रुपैयाँको हाराहारीमा बजेट ल्याउने तयारी भइरहेको प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव श्यामप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

१ हप्ता अगाडि

प्रतिक्रिया