बन्दीपुरमा १४० मेगावाट क्षमता जलविद्युत् आयोजना निर्माण हुँदै

आइतबार, ३० बैशाख २०८१, १३ : २३

काठमाडौँ - तनहुँको बन्दीपुरमा स्थापना गरेर तल्लो सेती जलविद्युत् आयोजनाको कामलाई तीव्रता दिइएको छ । तनहुँ हाइड्रोपावर लिमिटेडले एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । 

कम्पनीले १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजनाका लागि कार्यालय स्थापना गरेर कामलाई तीव्रता दिन थालेको हो । तल्लो सेतीको तीन सय ७५ मिटर लामो अनुसन्धानात्मक अडिट सुरुङ निर्माणका लागि आरके इञ्जिनियरिङ एण्ड एसोसिएटस्सँग खरिद सम्झौता गरिएको छ । डेढ वर्षभित्र उक्त सुरुङ निर्माण गरिसक्ने लक्ष्य राखिएको छ । सरकारले आयोजनाका लागि तनहुँ जिल्लामा करिब पाँच सय ७७ र चितवन जिल्लामा करिब ३२ रोपनी जग्गा प्राप्त गर्न स्वीकृति दिइसकेको छ । लिमिडेटले ऊर्जा मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा उक्त प्रस्ताव गरेको थियो । 

कम्पनीले आयोजनाको विद्युत् उत्पादनको सर्वेक्षण अनुमति प्राप्त गरिसकेको जनाएको छ । साथै दातृ निकाय एडिबीबाट प्राप्त करिब ३।५ मिलियन अमेरिकी डलर अनुदान सहयोगबाट आयोजनाको विस्तृत इञ्जिनियरिङ डिजाइन तथा बोलपत्र सम्बन्धी कागजात तयार गर्ने परामर्श सेवा खरिदका लागि वाप्कोस भारतरनिप्पन कोई जापान जेभीसँग विसं २०७५ चैत २९ गते खरिद सम्झौता भएको थियो ।

आयोजनाबाट बन्दीपुर–६, व्यास नगरपालिका–१३ र १४, देवघाट–२, ३ र ४, ऋषिङ गाउँपालिका–१ र ३, आँबुखैरेनी गाउँपालिका–५ र ६, भरतपुर महानगरपालिका–२९ का केही भाग प्रभावित हुनेछन् । देवघाट–४ गाइघाटमा अर्धभूमिगत विद्युत्गृहको निर्माण गरी विद्युत् उत्पादन गरिने छ । उत्पादित विद्युत्लाई तनहुँ जलविद्युत् आयोजनाले निर्माण गरेको २२० केभी दमौली–नयाँ भरतपुर प्रसारण लाइनमा जोडी राष्ट्रिय विद्युत् प्रणालीमा समाहित गरिनेछ । यसका लागि करिब दुई किमी प्रसारण लाइनको निर्माण गर्नुपर्ने आयोजना कार्यालयले जनाएको छ ।

आइतबार, ३० बैशाख २०८१, १३ : २३

प्रतिक्रिया