राष्ट्र बैङ्कले बैङ्किङ प्रणालीबाट ३५ अर्ब तरलता तान्दै

३ हप्ता अगाडि

काठमाडौँ - नेपाल राष्ट्र बैंकले  बैङ्किङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै  ३५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । केन्द्रीय बैंकले जेठ ११ गते निक्षेप सङ्कलन बोलकबोल मार्फत ७ दिनका लागि ३५ अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको हो । 

पछिल्लो समय बैङ्किङ प्रणालीमा निक्षेप (डिपोजिट) बढिरहेको तर सोहीअनुसार कर्जा माग नहुँदा तरलता थुप्रिरहेको छ । राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार जेठ ७ गतेसम्म बैङ्क तथा वित्तीय संस्थाहरूले ६१ खर्ब ९४ अर्ब निक्षेप सङ्कलन गर्दै यता ५१ खर्ब १३ अर्ब रुपैयाँ मात्र कर्जा लगानी गरेका छन् । समीक्षा अवधिमा ८०.३२ प्रतिशत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम गरेका बैङ्कहरूसँग ५ खर्ब बढी लगानीयोग्य रकम रहेको छ ।

बैङ्कहरूसँग पर्याप्त तरलता रहेकैले अन्तर बैङ्क ब्याजदर २.९२ प्रतिशतमा झरेको छ भने ट्रेजरी बिलको ब्याजदर समेत अधिकतम ३.२० प्रतिशतमा खुम्चिएको छ । जसले गर्दा पनि केन्द्रीय बैंकले पछिल्ला दिनहरूमा रिभर्स रिपो अर्थात् निक्षेप सङ्कलन उपकरणमार्फत लगातार बैङ्किङ प्रणालीमार्फत तरलता प्रशोचन गरिरहेको छ । शुक्रबार ३५ अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन बोलकबोल गर्ने जनाएको केन्द्रीय बैंकले सोही दिन निष्कासन गर्नेछ । इच्छुक बैङ्क तथा वित्तीय संस्थाहरूले दिउँसो १२ बजेसम्म आवेदन दिन सक्नेछन् । 
 

३ हप्ता अगाडि

प्रतिक्रिया