काठमाडौं- राजस्व सचिव रामप्रसाद घिमिरेले धेरै अध्ययनपछि विद्युतीय सवारीमा करका दर बढाएको बताएका छन् । यसअघिको बजेटबाट लिइएको नीतिले विद्युतीय गाडीको बजारमा राम्रो उत्साह आएकाले यसपटक पनि कर चलाइएको उनको भनाइ थियो ।
बजेटपछि अर्थमन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राजस्व सचिव घिमिरेले अहिले पनि विद्युतीय सवारी साधन सरकारको प्राथमिकतामै रहेकोले करका दरहरु धेरै परिवर्तन नभएको बताए ।
सरकारले नयाँ बजेटमा मार्फत विद्युतीय गाडीमा भन्सार र अन्तःशुल्क परिवर्तन गरेको छ । यसअघि ५० किलोवाटसम्मका मोटर जडान भएका विद्युतीय कारमा १० प्रतिशत मात्रै भन्सार लाग्दै आएको थियो । अब यसमा भन्सार १५ प्रतिशत र अन्तःशुल्क ५ प्रतिशत लाग्नेछ । त्यसैगरी यसअघि ५० देखि १०० किलोवाट क्षमता पीकपावर भएका गाडीमा १५ प्रतिशत भन्सार र १० प्रतिशत अन्तःशुल्क लगाइएकोमा बजेटले भन्सार २० प्रतिशत र अन्तःशुल्क १५ प्रतिशत बनाएको हो ।
१०१ किलोवाटदेखि २०० किलोवाटसम्मका मोटर जडान भएका विद्युतीय कारमा २० प्रतिशत भन्सार र २० प्रतिशत नै अन्तःशुल्क लाग्दै आएको थियो । नयाँ बजेटले भन्सार र अन्तःशुल्क क्रमशः ३० र २० प्रतिशत बनाइएको हो । त्यस्तै २०१ देखि ३०० किलोवाटसम्मका कारमा यसअघि भन्सार ४५ प्रतिशत र ४० प्रतिशत अन्तःशुल्क रहेकोमा नयाँ बजेटले भन्सार ६० र अन्तःशुल्क ३५ प्रतिशत कायम गरेको छ । ३०१ किलोवाट माथिको मोटर पावर भएका गाडीमा लाग्दै आएको ६० प्रतिशत भन्सार र ५५ प्रतिशत अन्तःशुल्कलाई परिमार्जन गरेर भन्सार ८० प्रतिशत र अन्तःशुल्क ५० प्रतिशत बनाएको हो ।
प्रतिक्रिया