काठमाडौं - सुस्त अर्थतन्त्रका कारण सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूमा एक वर्षमा ३५ अर्ब रूपैयाँभन्दा बढी निष्क्रिय कर्जा थपिएको छ । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको नौ महिनामा वाणिज्य बैंकहरूको औसत निष्क्रिय कर्जा तीन दशमलव ८९ प्रतिशत अर्थात् एक खर्ब ७५ अर्ब ९९ करोड ६८ लाख २६ हजार रूपैयाँ छ ।
यस अवधिमा बैंकहरूको निक्षेप ५४ खर्ब ४३ अर्ब ९५ करोड ७० लाख रूपैयाँ पुगेको छ भने कर्जा ४५ खर्ब २४ अर्ब ३४ करोड रूपैयाँ छ । बैंकहरूको निष्क्रिय कर्जा एक वर्षमा शून्य दशमलव ६६ प्रतिशत विन्दु अर्थात् ३६ अर्ब ११ करोड ८५ लाख ४२ हजार नौ सय रूपैयाँले बढी हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकहरूको औसत निष्क्रिय कर्जा तीन दशमलव २३ प्रतिशत अर्थात् एक खर्ब ३९ अर्ब ८७ करोड ८२ लाख ८२ हजार एक सय रूपैयाँ थियो । एक वर्षअघि वाणिज्य बैंकहरूले ४८ खर्ब ३२ अर्ब ६६ करोड ५० लाख रूपैयाँ निक्षेप संकलन गरी ४३ खर्ब ३० अर्ब ५९ करोड ७० लाख रूपैयाँ कर्जा प्रवाह गरेका थिए ।
वाणिज्य बैंकहरूको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार छ वटा वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा घटेको छ भने १३ वटाको बढेको छ । एउटाको स्थिर छ । एभरेष्ट बैंकको निष्क्रिय कर्जा एक वर्षअघिकै बराबर शून्य दशमलव सात प्रतिशत छ । ग्लोबल आईएमई बैंक, प्राइम कमर्सियल, माछापुच्छ्रे प्रभु, नेपाल इन्भेष्टमेन्ट मेगा, कुमारी, स्टान्डर्ड चार्टर्ड, हिमायलन, एनआईसी एसिया, नेपाल बैंक, नेपाल एसबीआई, लक्ष्मी सनराइज र राष्ट्रिय वाणिज्य बैंकको निष्क्रिय कर्जा बढेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ग्लोबल आईएमई बैंकको निष्क्रिय कर्जा चार दशमलव ७४ प्रतिशत छ । एक वर्षअघि तीन दशमलव ९६ प्रतिशत थियो । प्र्राइम कमर्सियल बैंकको निष्क्रिय कर्जा एक वर्षमा एक दशमलव २३ प्रतिशत विन्दुले बढेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा तीन दशमलव शून्य छ प्रतिशत रहेको निष्क्रिय कर्जा अहिले चार दशमलव २९ प्रतिशत पुगेको छ ।
माछापुच्छ्रे बैंकको निष्क्रिय कर्जा एक वर्षमा एक दशमलव ३१ प्रतिशत विन्दुले बढेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा दुई दशमलव ३७ प्रतिशत रहेको माछापुच्छ्रेको निष्क्रिय कर्जा यस आर्थिक वर्षको सोही अवधिमा तीन दशमलव ६८ प्रतिशत पुगेको छ । प्रभु बैंकको निष्क्रिय कर्जा पनि एक वर्षमा एक दशमलव ३३ प्रतिशत विन्दुले बढेर चार दशमलव ८१ प्रतिशत पुगेको छ । एक वर्षअघि प्रभुको निष्क्रिय कर्जा तीन दशमलव ४८ प्रतिशत थियो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको निष्क्रिय कर्जा शून्य दशमलव ७२ प्रतिशत विन्दुले बढेको छ । गत आर्थिक वर्षको चैत मसान्तमा तीन दशमलव ९४ प्रतिशत रहेको निष्क्रिय कर्जा यस आर्थिक वर्षको चैतमा चार दशमलव ६६ प्रतिशत पुगेको छ । कुमारी बैंकको निष्क्रिय कर्जा पनि एक वर्ष अघिको तुलनामा बढेको छ । गत आर्थिक वर्षको चैत मसान्तमा तीन दशमलव ९७ प्रतिशत रहेको कुमारीको निष्क्रिय कर्जा यस आर्थिक वर्षको सोही अवधिमा चार दशमलव ९५ प्रतिशत छ ।
स्टान्डर्ड चार्टर्ड, हिमालयन र एनआईसी एसिया बैंकमा पनि पछिल्लो समय निष्क्रिय कर्जा बढेको छ । यी बैंकहरूमा क्रमशः दुई दशमलव १४, चार दशमलव ९६ र एक दशमलव ७६ प्रतिशत निष्क्रिय कर्जा छ । गत आर्थिक वर्षको सोही अवधिमा यी बैंकहरूको निष्क्रिय कर्जा क्रमशः शून्य दशमलव ९०, चार दशमलव ५६ र शून्य दशमलव ७४ प्रतिशत थियो । नेपाल एसबीआई र लक्ष्मी सनराइज बैंकको निष्क्रिय कर्जा पनि बढेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा यी बैंकहरूमा क्रमशः एक दशमलव ९८ र पाँच दशमलव ४९ प्रतिशत निष्क्रिय कर्जा छ । गत आर्थिक वर्षको सोही अवधिमा यी बैंकहरूको निष्क्रिय कर्जा क्रमशः शून्य दशमलव ९७ र एक दशमलव ८२ प्रतिशत थियो ।
राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक निष्क्रिय कर्जा यस अर्थिक वर्षको तेस्रो त्रैमासमा क्रमशः चार दशमलव ३० र चार दशमलव ८५ छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा क्रमशः तीन दशमलव ८८, चार दशमलव १६ र प्रतिशत थियो । सिटिजन्स बैंक इन्टरनेसनल, कृषि विकास, सानिमा, सिद्धार्थ, नबिल र एनएमबी बैंकको निष्क्रिय कर्जा भने घटेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा तीन दशमलव ९८ प्रतिशत निष्क्रिय कर्जा रहेको सिटिजन्स बैंक इन्टरनेसनल बैंकमा चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा तीन दशमलव ७६ प्रतिशत निष्क्रिय कर्जा देखिएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा चार दशमलव २० प्रतिशत निष्क्रिय कर्जा रहेको कृषि विकास बैंकमा अहिले तीन दशमलव ३० प्रतिशत निष्क्रिय कर्जा छ ।
गत आर्थिक वर्षको तेस्रो त्रैमासमा दुई दशमलव २७ प्रतिशत निष्क्रिय कर्जा रहेकोमा यस आर्थिक वर्षको चैत मसान्तमा घटेर एक दशमलव ८९ प्रतिशतमा झरेको छ । सिद्धार्थ र नबिल बैंकको निष्क्रिय कर्जा पनि घटेको छ । गत चैत मसान्तमा यी दुई बैंकको निष्क्रिय कर्जा क्रमशः दुई दशमलव ५२ र एक दशमलव २७ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा क्रमशः तीन दशमलव ९५ र एक दशमलव ९८ प्रतिशत थियो । एनएमबी बैंकको निष्क्रिय कर्जा पनि एक वर्षअघिको तुलनामा घटेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा दुई दशमलव ९६ प्रतिशत रहेको एनएमबीको निष्क्रिय कर्जा अहिले दुई दशमलव ८६ प्रतिशतमा झरेको छ ।
प्रतिक्रिया