काठमाडौं- हुन्डाई क्रेटा ईभीमा धेरै आधुनिक र नयाँ फिचर रहने रिपोर्टहरू बाहिर आएका छन् । कोरियन निर्माताको सर्वाधिक सफल कम्प्याक्ट एसयूभीको इलेक्ट्रीक भर्सन पेट्रोलियमबाट चल्नेको तुलनामा हाइटेक फिचर लोडेड हुनेछ ।
सन् २०२४ को अन्तिममा सार्वजनिक हुने र २०२५ जनवरीबाट बिक्री सुरु हुने अनुमान गरिएको क्रेटा ईभीमा ३६० डिग्री क्यामेरा, दुई ठूला स्कृन, नयाँ स्टेरिङ ह्वील, एडास २, भ्यान्टीलेटेड सिट, ड्यूल जोन क्लाइमेट कन्ट्रोल जस्ता फिचर पाउन सकिन्छ । सुरक्षाको हिसावले पनि उत्कृष्ट बनाउन क्रेटा ईभीमा पेट्रोलियम पदार्थबाट चल्ने जस्तै स्टायन्डर्ड भेरियन्टमा नै ६ वटा एयरब्याग, सफ्टटच मेटेरियलले बनेको ड्यासबोर्ड, भेहिकल टु लोड क्षमता पनि यसमा रहने छ ।
भारतमा एक्साइडसँग ब्याट्री उत्पादन सम्झौता गरेको हुन्डाईले क्रेटा ईभीको लागि कुन ब्याट्री प्रयोग गर्छ भन्ने एकिन जानकारी बाहिर आएको छैन । तर, यसमा १०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहने पक्का भइसको छ । सम्भवत क्रेटा ईभीमा एलजी केमले उत्पादन गरेको ब्याट्री प्रयोग हुनसक्छ । क्रेटा ईभीमा ४५ किलोवाट आवर क्षमताको ब्याट्री रहने छ । यसले सिंगल चार्जमा ४०० किलोमिटरसम्म रेन्ज दिने रिपोर्ट बाहिर आएको छ । तर, हुन्डाईले यसअघि बजारमा ल्याएको कोना र आयोनीक(५ लाई आधार मान्दा ४५ किलोवाट आवरको ब्याट्रीले ३२० देखि ३३० किलोमिटरसम्म रेन्ज दिने अनुमान लगाउन सकिन्छ ।
नेपालमा पनि निकै सफल मानिएको क्रेटाको इलेक्ट्रीक भर्सन आगामी माघ महिनाबाट नेपालमा बिक्री सुरु हुने अनुमान लगाउन सकिन्छ । मोटर पावरले नेपाल बजारको लागि साथ दिने क्रेटाले अहिले नेपालमा उपलब्ध एमजीजेड ईभी, एक्सयूभी ४००, सेरेस-थ्री जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया