काठमाडौँ - नेपाल मोटर स्पोट्र्स एन्ड रोड सेफ्टी फेडरेसनले विश्व वातावरण दिवसको अवसर पारेर ललितपुर देखि चन्द्रागिरि सम्म MOSROS ललितपुर–चन्द्रागिरी सम्पदा कार र्याली र नेसनल अटोक्रस च्याम्पियनसिप आयोजना गरेको छ ।
पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य शिशिर खनाल र ललितपुर महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष सन्तोष खड्काले एक समारोहका बिच फ्ल्याग अफ गरी सो कार र्यालीको शुभारम्भ गरे । नेसनल अटोक्रस च्याम्पियनसिपको शुभारम्भ चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले गरेका थिए । उनले नासा नेपालका उपाध्यक्ष अनिल बरालले चलाएको गाडीमा बसेर ट्रयाक परिक्रमा गरी यसको शुभारम्भ गरेका थिए । राष्ट्रिय कार रेस प्रतियोगिता नेसनल अटोक्रस च्याम्पियनसिपको उपाधि आशिष भारतीले जितेका छन् । प्रतियोगितामा विप्लक श्रेष्ठ दोस्रो भएका थिए ।
प्रतियोगितामा पहिलो र दोस्रो हुनेलाई भियतनाममा केही समयपछि हुने अन्तर्राष्ट्रिय मोटर रेस प्रतियोगितामा सहभागी गराइने जानकारी आयोजकहरूले दिएका छन् । प्रतियोगितामा तीनजना महिलासहित २७ जना सहभागी थिए । प्रतियोगिताकै नोभिस श्रेणीतर्फको रेसमा लाक्पा सोनाम शेर्पाले प्रथम स्थान हासिल गरे भने राजकुमार कार्की दोस्रो भए । प्रतियोगिता अन्तर्गत ललितपुर चन्द्रागिरि सम्पदा मोटर र्यालीमा भने विप्लक श्रेष्ठ र राजन गिरीको जोडी प्रथम, प्रवेश पौडेल र प्रज्ज्वल पौडेलको जोडी दोस्रो र आशिष भारती र गौरवराज मानन्धरको जोडी तेस्रो भएको थियो । उक्त प्रतियोगितामा ललितपुर, काठमाडौँ र कीर्तिपुरका विभिन्न सम्पदा घुम्दै चन्द्रागिरि पुग्नुपर्ने थियो । यसमा प्रत्येक कारमा चालक र नेभिगेटर गरी दुई व्यक्ति सहभागी हुने गर्छन् ।
विजयी खेलाडीलाई पुरस्कार वितरण गर्दै चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले परम्परागत खेलमात्र नभई कार रेसजस्तो पर्यटन प्रवर्द्धन गर्ने साहसिक खेलमा समेत नगरपालिकाले ध्यान दिन थालेको र आगामी दिनमा यस्ता प्रतियोगिता गर्न नगरपालिकाको तर्फबाट सहयोग रहने बताए । देशमा साहसिक कार रेस प्रतियोगिताको विकास गर्ने र नेपाललाई यस खेलका विश्वस्तरीय स्पर्धाका लागि आकर्षक गन्तव्यका रूपमा प्रचार गर्ने उद्देश्यले प्रतितियोगिता आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष दीपक आचार्यले जानकारी दिए । कार रेसिङ खेलको अन्तर्राष्ट्रिय संस्था एफआईएका वर्ल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराईले पर्यापर्यटनलाई समेत टेवा दिने भएकाले आगामी दिनमा यो खेल लोकप्रिय हुने प्रचुर सम्भाना रहेको बताए ।
प्रतियोगिता संयोजक एवं नासा नेपालका उपाध्यक्ष अनिल बरालले चन्द्रगिरिमा प्रतियोगिता आयोजना हुँदा देखिएको जनसमर्थनले देशमा एउटा रेस ट्रयाकको आवश्यकता टड्कारो देखिएको बताए । उनले प्रतियोगिताका लागि भेन्यु उपलब्ध गराउने सम्बन्धित ग्राउन्डका अध्यक्ष तथा वाइल्ड बिस्ट नेपाल लगायतका स्थानीय क्लब र सबै जनसमुदायमा हार्दिक धन्यवाद ज्ञापन गरे। सो अवसरमा चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ र १५ का वडाध्यक्ष क्रमशः सञ्जय सिग्देल र घनश्याम लुइटेल, नासा नेपालका पदाधिकारी र विभिन्न व्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो ।
प्रतिक्रिया