राष्ट्र बैंकद्वारा बजार महँगी घटेको तथ्याङ्क सार्वजनिक

सोमबार, २८ जेठ २०८१, १७ : २१

काठमाडौँ - नेपाल राष्ट्र बैंकले बजार महँगी घटेको तथ्याङ्क सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको १० महिनामा आधारित वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांकअनुसार वैशाख महिनामा मुद्रास्फीति घटेको हो ।

२०८१ वैशाख महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.४० प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.४१ प्रतिशत थियो । गत वर्षको यही अवधिको तुलनामा २०८१ वैशाखमा उल्लेख्यरुपमा बजार महँगी घटेको हो ।समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.२७ प्रतिशत र गैह्र–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९६ प्रतिशत छ । खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २३.११ प्रतिशत छ । दाल तथा गेडागुडीको १०.८५ प्रतिशत, मरमसलाको ८.९८ प्रतिशत छ ।

यस्तै खाद्य तथा खाद्यजन्य पदार्थको मूल्यवृद्धि ७.४२ प्रतिशत र चिनी तथा चिनीजन्य वस्तुको ७.२५ प्रतिशतले मुद्रास्फीति छ । घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ७.१३ प्रतिशतले घटेको छ ।  गैह्र–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२.६६ प्रतिशत, शिक्षाको ५.६४ प्रतिशत, कपडाजन्य तथा जुत्ता चप्पलको ३.४६ प्रतितले बढेको छ ।सञ्चार उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ०.४८ प्रतिशतले घटेको छ । २०८१ वैशाख महिनामा काठमाडौँ उपत्यकाको ४.३० प्रतिशतले वार्षिक बिन्दुगत मुद्रास्फीति बढेको छ । तराईमा ४.३२ प्रतिशत, पहाडको ४.७० प्रतिशत र हिमालमा ४.२२ प्रतिशतले मुद्रास्फीति बढेको छ ।

सोमबार, २८ जेठ २०८१, १७ : २१

प्रतिक्रिया