काठमाडौं- होण्डा डिओ १२५ को मूल्य पहिलो पटक वृद्धि भएको छ । होण्डाको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले नाडा अटो शो २०२२ मा सार्वजनिक गरेको होण्डा डिओ १२५ को मूल्य वृद्धि गरेको हो ।
केही दिन अघि कम्पनीले जारी गरेको नयाँ मूल्यसूची अनुसार होण्डा डिओको मूल्य ९ हजारसम्मले बढेको छ । तीन मोडलका ६ भेरियन्टमा बिक्री होण्डा डिओको १२५ सीसी भर्सनको दुई भेरियन्टको मूल्य वृद्धि भएको हो ।
कम्पनीले दुई भेरियन्टमा ल्याएको होण्डा डिओ १२५ को मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ र डिलक्स भेरियन्टको मूल्य ३ लाख ९ हजार ९०० रुपैयाँ तोकेर बिक्री सुरू गरेको थियो । अहिले कम्पनीले यी दुवै मोडलको मूल्य वृद्धि गरेर डिओ १२५ एसटीडीको मूल्य ३ लाख २ हजार ९०० रुपैयाँ र डिओ १२५ डीएलएक्सको ३ लाख १८ हजार ९०० रुपैयाँ पुर्याएको हो । यो स्कुटरले यामाहा रेजेड–आर १२५ र एनटर्क १२५ सँग सिधा प्रतिस्पर्धा गर्छ ।
यस्तो छ स्कुटर
नयाँ होण्डा डिओमा १२३.९ सीसी क्षमता भएको एयर कुल्ड एफआई इन्जिन रहेको छ । उक्त इन्जिनले ८.१४ बीएच पावर र १०.३ एनएम टर्क जेनेरेट गर्छ । डिओ १२५ मा मोर्डन टेल ल्याम्प, नयाँ स्प्लिट ग्रयावरेल, डिस्कब्रेक, अलोय ह्वील, नयाँ ग्राफिक्स डिजाइन, नयाँ बोल्ड लोगो, ड्युल आउटलुट मफलरको साथ क्रोम फिनिसिङले स्कुटरको लुक्स पहिलेभन्दा थप स्पोर्टी देखिएको छ ।
त्यसैगरी, डिओ १२५ मा डिजिटल स्पीडोमिटर दिइएको छ । जसमा औषत इन्धनको खर्च, बाँकी पेट्रोलले दिने रेन्ज जस्ता सूचना दिन्छ । साथै, नयाँ डिओमा डिजिटल डिस्प्ले, ट्रिप मिटर, समय, साइड स्ट्यान्ड इन्डिकेटर, स्मार्ट की, एलइडी हेडलाइट, एलइडी पोजिसन लाइट, ब्याट्री इन्डिकेटर, सर्भिस ड्यू इन्डिकेटर दिइएको छ ।
कम्पनीले नयाँ डिओमा आइडल स्टप सिस्टम, १२ इन्चको फ्रन्ट ह्वील, टेलिस्कोपिक सस्पेन्सन, कम्बी ब्रेकिङ सिस्टम, १८ लिटर अन्डर सिट स्टोरेज स्पेस, स्मार्ट स्टार्ट, स्मार्ट फाइन्ड, स्मार्ट अनलक जस्ता थुपै फिचरहरू दिएको छ ।
प्रतिक्रिया