काठमाडौँ - आईएमई लिमिटेड हिजोदेखि २४ औँ वर्षमा प्रवेश गरेको छ । आईएमईले २४ औँ वार्षिक उत्सव ‘डिजिटल रूपान्तरणलाई अँगाल्दै’ भन्ने मूल नाराका साथ मनाएको आईइएमई ग्रुपका सह–संस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकाल जानकारी दिए ।
उनले आईएमईको व्यावसायिक यात्राको स्मरण गर्दै राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड भइसकेको रेमिटेन्सलाई वैधानिक माध्यमबाट स्वदेश भित्राउने व्यवसायमार्फत देशको औपचारिक अर्थतन्त्र विकासमा योगदान गर्न पुर्याउने कम्पनीको रूपमा आईएमईले योगदान गरिरहेको बताए । रेमिटेन्स सेवा रकमको औपचारिक आदानप्रदानमा सीमित नरही नागरिकको शिक्षा, स्वास्थ्य लगायतका गुणस्तरीय जीवनयापनको माध्यम बन्नका साथै राष्ट्रको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको पनि प्रबन्ध निर्देशक ढकालले उल्लेख गरे ।
आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थापनाकालदेखि नै गुणस्तरीय सेवा प्रवाह गरिरहेको आईएमई उत्कृष्ट र विस्तारित सेवाहरूको माध्यमबाट आफ्ना ग्राहकको सामाजिक तथा आर्थिक रूपान्तरणमा समर्पित रहने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष ढकालले वैधानिक माध्यमबाट रेमिटेन्स भित्र्याई देशको औपचारिक अर्थतन्त्र निर्माणमा योगदान गर्न आईएमई प्रतिबद्ध रहेको र आफ्नो व्यवसायलाई थप विविधीकरण गर्दै लगानी विस्तार गर्ने पनि उल्लेख गरे ।
त्यसैगरी आईइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले प्रविधिमा भएको विकासलाई आत्मसात् गर्दै विविधिकृत सेवाको माध्यमबाट आमनागरिकको दैनिक जीवनसँग प्रत्यक्ष रूपमा जोडिँदै अघि बढ्ने भनाइ राखे ।वार्षिकोत्सवको अवसरमा अन्तर कम्पनी खेलकुद तथा विभिन्न प्रतिस्पर्धाका विजेता र उपविजेतालाई प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको थियो ।
प्रतिक्रिया