नेपालमा बेरोजगारी दर बढ्दो

शुक्रबार, ०७ असार २०८१, १२ : ०८

काठमाडौँ - नेपालमा बेरोजगारी दर बढेको सरकारी तथ्याङ्कले देखाएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बेरोजगारी दर २०७९\८० मा १२.६ प्रतिशत पुगेको देखाएको हो । 

पहिलो जीवनस्तर सर्वेक्षण भएको आर्थिक वर्ष २०५२\५३ मा बेरोजगारी दर ४.९ प्रतिशत मात्र थियो । आर्थिक वर्ष २०७४\७५ मा भएको नेपाल श्रमशक्ति सर्वेक्षणमा भने नेपालमा बेरोजगारी दर ११.४ प्रतिशत रहेको थियो ।  चौथो जीवनस्तर सर्वेक्षण अनुसार १५ देखि २४ वर्ष उमेर समूहका युवामा बेरोजगारी दर २२.७ प्रतिशत पुगेको छ । यो समूहको बेरोजगारी दर २०५२\५३ मा ७.३ प्रतिशत मात्रै थियो । ‘यसले युवालाई यो देशमा रोजगारी पाउन कति कठिन छ भन्ने दर्शाउँछ,’ प्रतिवेदनमा उल्लेख छ ।

पछिल्ला १० वर्षमा ऋण लिने घरधुरीको सङ्ख्या घटे पनि लिएको ऋण तिर्न बाँकी रहेका घरधुरीको सङ्ख्या भने उच्च दरमा बढेको देखाएको छ । सर्वेक्षणका अनुसार आर्थिक वर्ष २०७९\८० मा ६३.८ प्रतिशत घरधुरीले कम्तीमा एउटा ऋण लिएको देखाएको छ । यसअघिको (तेस्रो) सर्वेक्षणअनुसार वर्ष २०६७\६८ मा यस्तो ऋण लिने घरधुरी ६५ प्रतिशत थिए । 

रोजगारीका लागि बिदेसिने दर बढेकाले रेमिटेन्स भित्रिने दर बढेको, कतिपयको पारिश्रमिक बढेकाले पनि ऋण लिने सङ्ख्या घटेको हुन सक्ने राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । ऋण तिर्न बाँकी घरधुरीको सङ्ख्या भने उच्च दरमा बढेको छ । तेस्रो सर्वेक्षण अनुसार ऋण लिनेमध्ये ६२।६ प्रतिशतले ऋण तिर्न बाँकी थियो । अहिले भने ऋण लिएकामध्ये ९७।३ प्रतिशतले तिर्न बाँकी रहेको देखिएको हो ।

शुक्रबार, ०७ असार २०८१, १२ : ०८

प्रतिक्रिया