बागमती प्रदेशसभाको बैठक स्थगित

शुक्रबार, ०७ असार २०८१, १३ : ४१

काठमाडौँ - बागमती प्रदेशसभाको बैठक  निर्धारित समयभन्दा २ घण्टा ढिलासम्म पनि बैठक सुरु हुन नसकेपछि  सूचना टाँस गरेर स्थगित गरिएको छ ।

बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजेसम्म पनि सुरु हुन सकेको छैन ।  बजेट माथिको विवादका कारण प्रदेशसभा बैठक प्रभावित हुँदै आएको छ । सरकारको बजेट माथि छलफलका लागि आह्वान गरिएको बिहीबारको बैठकमा प्रतिपक्षी दलहरूको अवरोध रहेको थियो । प्रतिपक्ष दलको अवरोध पछि दिउँसो ३ बजेका लागि बैठक सारिएको थियो । ३ बजे पनि बैठक चल्न सक्ने अवस्था नरहेपछि सूचना टाँस गरेर शुक्रबार बिहान ११ बजेसम्म बैठक स्थगित गरिएको थियो ।

बजेट असन्तुलित र त्रुटिपूर्ण रहेकाले प्रतिपक्ष दलहरूले बजेट पुनः लेखन गर्न माग गरेका छन् । बजेट पुनः लेखन नभए सम्म बैठक चल्न नसक्ने प्रतिपक्ष दलले चेतावनी दिएका छन् ।यसैबीच बजेट माथिको विवाद समाधान गर्न प्रदेशसभाका मुख्य ३ दल बिच  छलफल भइरहेको जनाइएको छ ।सत्तारुढ दल माओवादी केन्द्र, एमाले र प्रतिपक्ष दल कांग्रेस छलफलमा जुटेका हुन् । 
 

शुक्रबार, ०७ असार २०८१, १३ : ४१

प्रतिक्रिया