उद्योगका जटिलता हटाउन सरकार सकारात्मक छ : उद्योगमन्त्री

शुक्रबार, ०७ असार २०८१, १६ : ५१

काठमाडौँ - उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योगहरूको पक्षमा कानुन निर्माण गरी उद्योगका जटिलता हटाउन सरकार सकारात्मक रहेको बताएका छन् । 

शुक्रवार बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले बैठकमा बोल्दै उद्योगमन्त्री भण्डारीले यस्तो बताएका हुन् । उनले सरकारले बनाउने हरेक कानुनहरू उद्योगमैत्री बनाउन नसके अहिले उद्योगमा देखिएका समस्या समाधान गर्न नसकिने उल्लेख गरे । भण्डारीले सिमेन्ट उद्योगमा देखिएका समस्या समाधान गर्नको लागि सरकारले कानुन संशोधन गर्नुको विकल्प नरहेको बताए । उनले समितिले सिमेन्ट उद्योगको लागि गर्ने निर्णय मन्त्रालय मान्न तयार रहेको बताए । 

उनले भने, ‘सिमेन्ट उद्योगको लागि समितिले गर्ने निर्णय मान्न तयार छु । नेपालका उद्योग जुन अवस्थामा छन् त्यहाँबाट उठाउनुपर्छ । उद्योगहरूको उद्योग मन्त्रालयले रक्षा गरेन भने त्यसको पक्षमा कानुन निर्माण गरिएन भने अहिलेको जटिलतालाई सम्बोधन गर्न सकिँदैन ।’उनले सरकारले बनाउने कानुनहरूलाई उद्योगमैत्री बनाउने विषयमा मन्त्रालय सहजीकरण गर्न तयार रहेको बताए । उनले कानुनमा रहेका अस्पष्टताहरू हटाउनको लागि खानी तथा खनिज पदार्थ नियमावली संशोधन गर्न आवश्यक रहेको पनि बताए । 
 

शुक्रबार, ०७ असार २०८१, १६ : ५१

प्रतिक्रिया