काठमाडौँ - वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८१\०८२ का लागि नीति तथा कार्यक्रम ल्याएको छ । शनिवार सो महानगरपालिकाले नीति तथा कार्यक्रम ल्याएको हो ।
‘सुन्दर, समुन्नत, समृद्ध र वैभवशाली सहर, वीरगन्ज महानगर’ भन्ने नाराका साथ महानगरका मेयर राजेशमान सिंहले १५ औँ नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । मेयर सिंहले आगामी आर्थिक वर्षमा पर्यटन, सरसफाइ, वन र वातावरणलाई बढी लक्षित गरी नीति तथा कार्यक्रम ल्याएका छन् । नीति तथा कार्यक्रममा वीरगन्जको खानेपानी समस्या समाधान गर्न सार्वजनिक स्थानमा डिप बोरिङ गर्ने कार्यलाई निरन्तरता दिँदै नेपाल खानेपानी संस्थानसँगको सहकार्यमा पाइप लाइन विस्तार गर्ने कार्यलाई तीव्रता दिने भनिएको छ ।
साथै नगरका मुख्य स्थानहरू, सामुदायिक विद्यालय, नारायणी अस्पताल लगायतका ठाउँहरूमा ‘वाटर एटिएम’ प्रणाली स्थापना गरिने उल्लेख गरेको छ । यसैगरी नेपाल खानेपानी संस्थानसँगको सहकार्यमा आर्थिक विपन्न परिवारको पहिचान गरी ४ हजार घरधुरीमा धारा जडान गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । योसँगै पूर्वाधार निर्माण तथा आर्थिक विकास, शिक्षा तथा स्वास्थ्य, कृषि तथा पशुपंक्षी, खेलकुदसहितका क्षेत्रलाई लक्षित गरी नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
प्रतिक्रिया