काठमाडौं- चालु आर्थिक वर्ष चिनियाँ कारको लागि नेपाल स्वर्ण वर्ष बन्यो । चालु आर्थिक वर्षको ११ महिनामा चीनबाट ७ हजार ९४५ यूनिट कार आयात भयो ।
साउनदेखि जेठ मसान्तसम्मको अवधिमा कुल १५ हजार ४७६ यूनिट कार आयात भएको देखिन्छ । उक्त आयातमा एम्बुलेन्सको लागि ल्याइएको १४९ यूनिट पनि यसमा समावेस गरिएको छ । उक्त आयातमा चीनबाट आएका ५० किलोवाट क्षमताका इलेक्ट्रीक माइक्रो भ्यानको संख्या पनि जोडिएको छ ।
नेपालमा वार्षिक औषत १२ देखि १४ हजार यूनिट कार बिक्री हुने गर्छ । चालु आर्थिक वर्षमा अहिलेसम्मको आयात हेर्दा राम्रै वृद्धि देखिएको छ । दुई वर्षअघिसम्म नेपालमा बिक्री हुने कारको झण्डै ८५ प्रतिशत भारत, ७ प्रतिशत चीन र अन्यदेशबाट ८ प्रतिशत गाडी आयात हुने गरेकोमा चालु आर्थिक वर्ष २०८०/८१ मा चिनियाँ कारको आयात ५१ प्रतिशत माथि पुगेको हो । चीनबाट सबैभन्दा धेरै कार बीवाइडीले आयात गरेको छ । एक वर्षको दौरान बीवाइडीले झण्डै ४ हजार यूनिट कार आयात गरेको हो । त्योसँगै दोस्रो धेरै कार एमजीले आयात गरेको देखिन्छ ।
एमजीपछि ओमोडा, दिपल, विलिङ, जस्ता ब्राण्डका विद्युतीय कार धेरै आयात भएका छन् । भारतबाट आएका कारको हिस्सा घटेको हो । तथापि, साना विद्युतीय कार ३ हजार २३५ यूनिट भारतबाट आयात भएको देखिन्छ । यस अवधिमा विभिन्न देशबाट आयात भएको ४ हजार १० यूनिट पेट्रोलियम पदार्थबाट चल्ने कार छन् । पेट्रोलियम पदार्थबाट चल्ने कार केबल १४ यूनिट मात्रै आयात भएको छ ।
प्रतिक्रिया