काठमाडाैं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीति अर्थतन्त्र चलायमान बनाउने किसिमको आउने बताएका छन्। मौद्रिक नीति तर्जुमाको पूर्वसन्ध्यामा केन्द्रीय बैंकले बिहीबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा गभर्नर अधिकारीले यस्तो बताएका हुन्। अहिलेको अवस्थामा मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने मुख्य विषय नै अर्थतन्त्र चलायमान बनाउनु हो भन्दै उनले राष्ट्र बैंकले सोहि अनुसार हुने गरि मौद्रिक नीति ल्याउने आवश्यक कार्य गरिरहेको बताए ।
उनले मौद्रिक नीति कुनै जादुको छडी पनि नभएको चर्चा गर्दै यसले चट्ट निको पार्छ भन्ने भ्रममा पर्न नहुने पनि बताए । साथै उनले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि मौद्रिक नीतिले गर्न सक्ने हदैसम्मको प्रयास गर्ने पनि बताए। उनले बैंकहरुको नाफा घट्दै गएकोमा चिन्ता व्यक्त गर्दै अहिले व्यवसायीको कर्जा तिर्न सक्ने क्षमतामा पनि कमी देखिएको बताए।अहिले बैंकहरु नयाँ कर्जा दिन समेत डराएको बताउँदै गभर्नर अधिकारीले राष्ट्र बैंक सकेसम्म सहजीकरण गरेर जाने पक्षमा रहेको बताए ।
गभर्नर अधिकारीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई लक्षित गदै ‘लोन लि खा नतिर्’ भन्ने प्रवृत्ति हावी हुँदा समग्र बैंकिङ क्षेत्रमा असर देखिनुको एक कारण रहेको पनि बताए । उक्त कार्यक्रमा विभिन्न क्षेत्रका सहभागीहरुले राष्ट्र बैंकले आगामी वर्ष अर्थतन्त्र चलायमान बनाउने गरी खुकुलो मौद्रिक नीति ल्याउनुपर्ने सुझाव दिएका थिए ।राष्ट्र बैंकले कर्जामा गरेको कडाइले गर्दा अर्थतन्त्रमा समेत असर गरेको भन्दै उनीहरुले कर्जा लगानी बढ्ने गरी मौद्रिक नीति तर्जुमा गर्न सुझाव दिएका थिए ।
प्रतिक्रिया