उपसभामुख इन्दिरा र चीनका विदेश मन्त्रीबीच भेटवार्ता

शुक्रबार, २१ असार २०८१, ०९ : ५९

काठमाडौँ- उपसभामुख इन्दिरा राना र चीनका विदेश मन्त्री वाङ यी बिच तिब्बतमा भेटवार्ता भएको छ । चीनका विदेशमन्त्री वाङ यी र  तिब्बतमा आयोजित चौथो चाइना सिजाङ ट्रान्स हिमालयन फोरममा सहभागी हुन तिब्बत पुग्नु भएकी उपसभामुख राना बिच बिहीबार तिब्बतमा भेटवार्ता भएको हो । 

भेटवार्ताका क्रममा उपसभामुख रानाले नेपाल सधैँ ‘एक चीन नीति’ को बलियो समर्थक रहँदै आएको बताइन् । “नेपाल चीनको घनिष्ठ मित्र, विकास साझेदार र असल छिमेकी हो। यसरी हामी चीनसँगको सम्बन्धलाई उच्च महत्त्व र प्राथमिकता दिन्छौँ।”, उनले भनिन् “नेपाल सधैँ ‘एक चीन नीति’ को बलियो समर्थक रहँदै आएको छ र भविष्यमा पनि यसमा प्रतिबद्ध रहनेछ । नेपाली भूमिको दुरुपयोग गरी चीनविरुद्धको कुनै पनि गतिविधि हुन नदिने हाम्रो नीति र प्रतिबद्धतामा हामी दृढ छौँ ।” नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रताप्रति चीनले गरेको निःशर्त सम्मानको नेपालले सधैँ कदर गर्ने पनि उपसभामुख रानाले बताइन् । 

भेटका क्रममा उनले  शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न  गम्भीरताका साथ काम गरिरहेको चर्चा गर्दै सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन संशोधन गर्ने प्रक्रिया संसदबाट छिट्टै पूरा हुनेमा आशावादी रहेको बताइन् ।  नेपालको ध्यान ध्यान समृद्धिको लागि दिगो, समावेशी र उच्च आर्थिक वृद्धि ल्याउनेतर्फ केन्द्रित रहेको भनाई उनको थियो ।  अर्को प्रसङ्गमा उपसभामुख रानाले  चीन र नेपाल, दक्षिण एसिया, दक्षिण पूर्व एसिया र मध्य एसियाका अन्य देशहरू बिचको सम्पर्क विस्तारका लागि ट्रान्स हिमालयन प्लेटफर्मको कार्यान्वयनलाई तीव्रता दिन चाहेको धारणा राखिन् । उनले हिमालय क्षेत्रका देशहरूका बिचमा कनेक्टिभिटी बढाउन, प्रकृतिमैत्री दिगो विकासलाई प्रवर्द्धन गर्न र आपसी सहयोग विकास गर्न महत्त्वपूर्ण संस्थागत प्लेटफर्म बन्ने विश्वास पनि व्यक्त गरिन् । 

शुक्रबार, २१ असार २०८१, ०९ : ५९

प्रतिक्रिया