काठमाडौँ - साउन महिनालाई हामी पूजा–आराधना, भक्ति–किर्तनको महिना पनि भन्छौं ।
साउनको सोमबारको विशेष महत्व छ । साउनको हरेक सोमवार पूजाआजा गर्ने, मठमन्दिर धाउने गरिन्छ । साथसाथै उपवास अर्थात व्रत बस्ने गरिन्छ ।साउनलाई उपवासको महिना पनि भनिन्छ ।
साउनमा किन उपवास बसिएको होला ? उपवास बस्दा भगवान खुसी हुन्छन् ? यि भिन्न कुरा होलान् । तर साउनमा उपवास बस्नुको छुट्टै वैज्ञानिक अर्थ पनि छ । हाम्रा पूर्खाले साउनको महिनामा उपवास बस्ने चलनको शुरुवात गरे । कतिले यस महिनाको हरेक सोमवार उपवास बस्ने गरेका छन् । धेरैले माछामासु खान छाड्छन् । अर्थात पूर्णतः शाहाकारी भोजन अपनाउँछन् ।
सोमबार व्रत बस्ने चलन कसरी सुरु भयो ?
सोमबार शिवको व्रत बस्ने चलनको पछाडी धेरै कथाहरु चलिआएका छन। यी कथाहरु मध्ये तीन कथाहरु बढी चर्चित छन्। पहिलो कथा एक गरिब ब्राह्मणको बारेमा छ जसले शिवको व्रत पश्चात धन प्राप्त गरेको कथा छ। दोस्रो, एक धनी व्यापारीको छ। जसको छोरा थिएनन्। लामो प्रतिक्षा पछि छोरा जन्मिए तर छोटो समयमै मृत्यु हुन पुग्यो। कथा अनुसार शिव र पार्वतिको कृपाले छोराको पुर्नजन्म भएको थियो। तेस्रोः शिव र पार्वतीले खेलेको कौडा खेलको कथा छ।
कुनै पनि खालको व्रत वा उपवासले शारीरिक स्वास्थ्यमा प्रतक्ष प्रभाव पार्छ। समय समयमा व्रत बस्नाले शरिरलाइ फाइदा पुर्याउँछ। व्रतको धारणा परापुर्वककालका ब्राह्मणहरुले ‘ब्राह्मण धर्म’ प्रति मानिसलाइ आकर्षित गर्न प्रयोग गर्थे। यसले शारिरीक स्वास्थ्यलाई नै राम्रो बनाउने हुँदा व्रत बस्ने आफैले नै अनुभव गर्नसक्ने हुँदा हजारौं वर्षसम्म पनि यो प्रथा चलिआएकै छ ।
किन बस्ने ब्रत ?
साउनमा उपवास बस्नुको फाइदै फाइदा छ । उपवास बस्दा खराब खानेकुराको सेवनबाट बचिन्छ । सडेको, गलेको, बासी, कुहिएको खानेकुरा खाइदैन । पचाउन गाह्रो हुने माछामासु लगायतका परिकार पनि खाइदैन । शुद्ध र ताजा खानेकुरा मात्र खाइन्छ । साथसाथै पाचन यन्त्रलाई विश्राम पनि मिल्छ । पाचन यन्त्रलाई बेलाबखत विश्राम चाहिन्छ । किनभने हामीले खाएका कति खानेकुरा पच्दैन । त्यस्ता खानेकुरा विकार बनेर शरीरमा रहेको हुन्छ । वास्तवमा शरीरमा जम्मा हुने विकार नै रोगको मूल कारण हो ।
अतः शरीरको यस्ता विकारलाई हटाउनका लागि पनि उपवास बस्नुपर्छ ।
त्यसबेला खेतीपातीको काम पनि करिब करिब सकिएको हुन्छ । खेती किसानी गर्नेले विश्राम पाइसकेका हुन्छन् । शारीरिक श्रम धेरै गर्नुनपर्ने भएकाले खानेकुरा नियन्त्रण गर्दा फरक पर्दैन ।
महिनाभरी नै बस्नुपर्छ त ब्रत ?
श्रावण महिनामा बसिने ब्रत सबैभन्दा श्रेष्ठ ब्रत मानिएको छ । यो पापको मेटाउने वाला र मनोकामना पूर्ति गर्ने वाला ब्रतको रुपमा साउन महिनाको ब्रतलाई मान्न सकिन्छ । हिन्दू धर्ममा श्रावण महिनाभरी ब्रत बस्ने प्रणालीबाट प्रभावित भएर नै सबै धर्मले एक महिना भरी ब्रत बस्ने प्रक्रियाको सुरुवात गरेका हुन् ।
जसरी गुड फ्राईडे मनाउन सुरु हुनुपूर्व ईसाईहरुले ४० दिनको उपबास बस्ने गरेका थिए । जसरी इस्लामहरुले रमजान महिनामा उपबास बस्ने गर्दछन् । उनीहरुदे सुरुवात गर्नुपूर्व नै हिन्दू संस्कृतिले साउनको ब्रतको महत्व बताईसकेको थियो । यो महिना निराहार या त फलाहार जसरी सकिन्छ ब्रत बस्नै पर्छ भन्ने कुरा हिन्दू धर्मका विभिन्न शास्त्रहरुमा नै उल्लेख गरिएको छ ।
ब्रत नै तप हो । ब्रत नै उपवास हो । यस ब्रतको कहिले र कसले सुरु गरे यो अलग नियम हो । नियमबाट हटेर जो मनोमानी रुपमा ब्रत तथा उपबास बस्ने गरेका छन् । त्यसमा केही धार्मिक महत्व रहेने छैन । व्रतले जीवनमा कुनैपनि प्रकारको रोग र शोकलाई अन्त्य गर्दछ । ब्रतको कारणले नै मोक्ष प्राप्त हुने गर्दछ । श्रावण महिनाको ब्रतका लागि पनि यसको छुट्टै नियमहरु रहेका छन् ।
ब्रतको तौर-तरिका
उपवास बस्ने विभिन्न विधी छन् । निराहार उपवास बस्ने चलन पनि छ । साथसाथै ताजा फलफूल खाएर पनि उपवास बस्ने गरिन्छ । कतिपयले पानी समेत नपिइ उपवास बस्छन् । कतिपयले सुपाच्य खानेकुरा खान्छन् । माछामासु, वासी र अन्न सेवन गर्दैनन् । फलफूल एवं जुस पिएर बस्छन् ।
पूजापाठ र उपवासको सम्बन्ध
उपवास बस्दा सुरुमा भोक लागेको महसुष हुन सक्छ । कमजोरी महसुष हुनसक्छ । वेचैनी महसुष हुनसक्छ । त्यसैले पूजापाठ गरेर मनलाई शान्त तुल्याउन सकिन्छ । पूजापाठ गर्दा मनमा भक्ति-भाव पैदा हुन्छ । यसले हामीलाई कृतज्ञ र शान्त तुल्याउँछ । मन वेचैन हुँदैन । तनाव हुँदैन । त्यसैले उपवासबाट पूर्णत लाभ लिन सकिन्छ ।
साउनमा उपवास बस्नु भनेको भगवान खुसी बनाउनु होइन, आफ्नै स्वास्थ्यलाई शुद्ध र निरोगी तुल्याउनु हो । मनलाई प्रशन्न राख्नु हो । आफ्नो शरीर स्वस्थ्य, शुद्ध र मन सकारात्मक भएपछि भगवान यसै खुसी हुन्छन् ।
ब्रत बस्दाको सावधानी
१. कुनै रोग छ वा औषधी सेवन गरिरहेको छ भने ब्रत एवं उपवास बस्नु हुँदैन । वा चिकित्सकको परामर्श आवश्यक हुन्छ ।
२. गर्भावस्थामा ब्रत तथा उपवास बस्नु उपयुक्त हुन्न ।
३. कमजोरी भएमा वा कुनै शारीरिक समस्या भएमा उपवास बस्नु उपयुक्त हुँदैन ।
४. उपवास बस्नुअघि आफ्नो शारीरिक अवस्था थाहा हुनुपर्छ ।
५. उपवास विधीपूर्वक सिलसिलावद्ध ढंगले गर्नुपर्छ ।
उपवास वस्दा ग्याष्ट्रिकको समस्य भए हेल्थ टिप्स
साउन महिनामा उपवास वस्दा ग्याष्ट्रिकको समस्य भए, निम्न उपाय अपनाउन सकिन्छ ।
– ग्याष्ट्रिको कारण पेटमा समस्य छ भने, त्यस समय एकरदुई दाना स्टवेरी खानु पर्छ ।
– १ चम्चा वेकिङ सोडालाई एक गिलास पानीमा मिसाउने, त्यसमा थोरै नुन र कागती राखेर सेवन गर्ने ।
– ग्याष्ट्रिकवाट छुटकारा पाउन घिउकुमारी पनि प्रयोग गर्न सकिन्छ ।
– यस्तो अवस्थामा सुकुमेल, जीरा, दालचीनी, लसुन र अदुवाको सेवन पनि प्रभावकारी हुनसक्छ ।
– पुदिना वा दालचिनीको फ्लेवरयुक्त चियाले पनि पेटको समस्य ठीक हुन्छ ।
– कागतीमा हाइड्रोक्लोरिक एसिड हुन्छ, जसले पाचन प्रक्रियामा सघाउ पुर्याउँछ ।
प्रतिक्रिया