विराटनगर भन्सारले उठायो ५९. ७३ प्रतिशत राजस्व

शुक्रबार, ०४ साउन २०८१, १६ : १४

काठमाडौँ - विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष ०८०\८१ मा ५९ दशमलव ७३ प्रतिशत राजस्व असुली गरेको छ । कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी परशुराम दाहालका अनुसार गत आर्थिक वर्षमा ३० अर्ब ३४ करोड ९४ लाख ३४ हजार रुपैयाँ असुली भएको हो ।

सो आर्थिक वर्षका लागि कार्यालयको राजस्व असुली लक्ष्य भने ५० अर्ब ८१ करोड ६२ लाख ७१ हजार रुपैयाँ रहेको उनले बताए । साउनमा कार्यालयले सबैभन्दा बढी ८१ दशमलव ५७ प्रतिशत राजस्व असुली गरेको छ । ३ अर्ब ४९ करोड ७६ लाख लक्ष्य रहेकोमा साउनमा २ अर्ब ८५ करोड २९ लाख रुपैयाँँ असुली भएको सूचना अधिकारी दाहालले जानकारी दिए। त्यसैगरी, सो वर्ष कार्तिक महिनामा भन्सार असुली अन्य महिनाको तुलनामा कम भएको छ।

४ अर्ब २२ लाख रुपैयाँँ लक्ष्य राखिए पनि कात्तिकमा ४७ दशमलव ८१ प्रतिशत गरी कुल १ अर्ब ९१ करोड ३२ लाख रुपैयाँँ राजस्व संकलन भएको छ। अघिल्लो आर्थिक वर्ष २०७९\८० को तुलनामा यसपटक लक्ष्यसमेत ९ अर्ब २१ करोड ८९ लाख ५४ हजार रुपैयाँले कम रहेको थियो । सो आर्थिक वर्षमा भन्सार लक्ष्य ६० अर्ब ३ करोड ५२ लाख २५ हजार रुपैयाँ राखिए पनि ५५ दशमलव २ प्रतिशत राजस्व असुली भएको थियो। सो समय निर्धारित लक्ष्य पछ्याउने क्रममा ३३ अर्ब १३ करोड ६६ लाख ६० हजार रुपैयाँ राजस्व संकलन भएको थियो।

गत वर्ष २०८०\८१ मा यस भन्सार कार्यालयमा निर्यातभन्दा आयात १ खर्ब ३६ अर्ब ७२ करोड २३ लाख ६१ हजार रुपैयाँंले बृद्धि भएको छ। कुल कारोबार १ खर्ब ९८ अर्ब ३३ करोड ९८ लाख ९३ हजार रुपैयाँको भएको जनाउँदै कार्यालयले आयाततर्फ १ खर्ब ६७ अर्ब ५३ करोड ११ लाख २७ हजार रुपैयाँ र ३० अर्ब ८० करोड ८७ लाख ६६ हजार रुपैयाँको सामग्री निर्यात भएको  छ।

शुक्रबार, ०४ साउन २०८१, १६ : १४

प्रतिक्रिया