हेटौँडाले गर्‍यो ६ अर्ब ६६ करोड ९९ लाख राजस्व सङ्कलन

सोमबार, ०७ साउन २०८१, १५ : ४४

काठमाडौँ - आन्तरिक राजस्व कार्यालय हेटौँडाले गत आर्थिक वर्षमा ६ अर्ब ६६ करोड ९९ लाख राजस्व सङ्कलन गरेको छ । सो अवधिमा आठ अर्ब ८० करोड ४५ लाख २४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ७५ दशमलव ७६ प्रतिशत सफलता प्राप्त भएको हो ।

उक्त अवधिमा अन्तशुल्कतर्फ तीन अर्ब ३८ करोड ११ लाख २४ हजार, आयकरतर्फ एक अर्ब १८ करोड ७१ लाख २४ हजार, मूल्य अभिवृद्धिकरतर्फ एक अर्ब ३७ करोड २३ लाख २५ हजार, व्याजकरतर्फ आठ करोड ३९ लाख ५४ हजार, घरबहालकरतर्फ दुई करोड नौ लाख २५ हजार र स्वास्थ्य सेवा करबाट रु ६२ करोड ४५ लाख नौ हजार राजस्व सङ्कलन भएको कार्यालय प्रमुख तुलसीप्रसाद भट्टराईले जानकारी दिए ।

मकवानपुरमा विगतमा सञ्चालित तीन वटा मन्दिरा उद्योग बन्द भएको तथा बालुवा, गिट्टी, ढुङ्गा उत्खननको ठेक्का नलाग्नु, विभिन्न कारण देखाउँदै बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा कटौती, विभिन्न समानको आयातमा सरकारले गरेको प्रतिबन्धलगायत कारणले लक्ष्य अनुसारको राजस्व सङ्कलन हुन नसकेको उनले बताए ।

यसैबीच वार्षिक आय विवरण नबुझाउने करिब १७ हजार करदातामाथि सो कार्यालयले कारबाही अघि बढाएको छ । कार्यालयबाट व्यवसायी करदाता प्रमाणपत्र (प्यान) लिएकामध्ये करिब ५० प्रतिशतभन्दा बढी करदाताले लामो समयदेखि वार्षिक आय विवरण नबुझाएपछि कार्यालयले ती करदाताको अभिलेख तयार पारेर कारबाही अघि बढाएको कार्यालय प्रमुख भट्टराईले जानकारी दिए ।

 

सोमबार, ०७ साउन २०८१, १५ : ४४

प्रतिक्रिया