काठमाडौँ - कैलाली भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८०\८१ मा ७ अर्ब ९१ करोड ८० लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयलाई गत आवमा ११ अर्ब ५८ करोड २४ लाख राजस्व सङ्कलनको वार्षिक लक्ष्य दिइएको थियो ।
भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार सवारीसाधान, पेट्रोलियम पदार्थ, निर्माण सामग्री, हार्डवेयरका सामान, खाद्यान्न, तरकारी, कपडालगायतका सामानको आयात घटेकाले लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न नसकिएको हो । आव २०८०\८१ मा भन्सार महसुलबापत रु। तीन अर्ब एक करोड, मूल्य अभिवृद्धि करबापत तीन अर्ब १७ करोड, अन्तः शुल्क बापत २० करोड ४४ लाख र अन्य शुल्क बापत एक अर्ब ५२ करोड राजस्व सङ्कलन भएको उनले बताए । भन्सार कार्यालयले आव २०८०\८१ मा लक्ष्यको ६८ दशमलव ३६ प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको छ ।
भन्सार कार्यालयको तथ्याङ्क अनुसार आव २०७९\८० मा आठ अर्ब २९ करोड राजस्व सङ्कलन गरेको थियो । आव २०७८\७९ मा नौ अर्ब ५८ करोड राजस्व असुली भएकामा आव २०७७\७८ मा आठ अर्ब ८४ करोड सङ्कलन भएको थियो ।यसैगरी, आव २०७६र७७ मा कोभिड–१९ महामारीका कारण चार अर्ब ९२ करोड मात्रै राजश्व सङ्कलन भएको थियो भने आव २०७५\७६ मा पाँच अर्ब १९ करोड सङ्कलन गरेको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया