काठमाडौँ - सिराहाको भगवानपुर गाउँपालिकास्थित भन्सार कार्यालयको राजस्व सङ्कलन लक्ष्यभन्दा आधाले घटेको छ । भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यभन्दा रु पाँच करोड राजस्व कम सङ्कलन गरेको हो ।
कार्यालयले गत आवमा रु नौ करोड नौ लाख ९३ हजार राजस्व असुली गर्ने लक्ष्य लिएकामा रु चार करोड १९ लाख २२ हजार राजस्व सङ्लकन गरेको कार्यालयका सूचना अधिकारी विनय चौधरीले जानकारी दिए । कार्यालयले राजस्व चुहावट नियन्त्रण, चोरीपैठारी रोक्न नियमित भन्सार गस्ती, सशस्त्र प्रहरी र जनपथ प्रहरीबाट चार सय ५० मुद्दा दर्ता भई चार सय २० मुद्दाको टुङ्गो लागाएको सूचना अधिकारी चौधरीले बताए ।
कार्यालय प्रमुख मुकेशकुमार पाठकले राजस्व असुलीमा आर्थिक मन्दीको प्रत्यक्ष असर परेको बताउँदै पर्याप्त जनशक्ति नहुँदा अवैध चोरी पैठारी नियन्त्रण गर्न कठिनाइ भइरहेको जानकारी दिए । उनले भारतबाट भित्रिने सवारीसाधन, टायल्स तथा मार्बलबाट बढी राजस्व सङ्कलन हुने गरेको बताए । उनले पछिल्लो समय निर्यातको अवस्था पनि कमजोर रहेको उल्लेख गरे।
प्रतिक्रिया