कृषि तथा पशुपंक्षीजन्य उत्पादनमा फड्को मार्दै कर्णाली प्रदेश

मंगलबार, १५ साउन २०८१, १२ : ००

काठमाडौं–अपेक्षाकृत रुपमा दुर्गम मानिएको कर्णाली प्रदेश कृषि तथा पशुपंक्षीजन्य उत्पादनमा प्रगति गर्दै गएको छ । आर्थिक वर्ष २०८०/०८१ मा यस प्रदेशबाट रु चार अर्ब ११ करोडको कृषि तथा पशुपंक्षीजन्य उपज निर्यात गरिएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले  रु चार अर्ब ११ करोड ७७ लाख ८१ हजार रकम बराबरको कृषि तथा पशुपंक्षीजन्य उपज प्रदेशबाट अन्यत्र निर्यात भएको तथ्याङ्क सार्वजनिक गरेको छ ।

मन्त्रालयकाद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता धनबहादुर कठायतले कृषिजन्य उपज (तरकारी, सुन्तला, फलफुल, मसलाबाली, मह आदि) रु दुई अर्ब २६ करोड ६७ लाख ११ हजारको प्रदेशबाहिर निर्यात गरिएको जानकारी दिए । त्यस्तै, पशुपंक्षीजन्य उपज (खसी, दुध, माछा, मासु, घ्यू, राडीपाखा, छुर्पी आदि) रु एक अर्ब ८४ करोड ९० लाख ७० हजारको निर्यात गरिएको उनले बताए ।

मन्त्रालयका सचिव टिकाराम थापाका अनुसार प्रदेशको मूल प्रवेशद्वार बबई र कपुरकोट नाकाबाट लिइएको तथ्याङ्कअनुसार कृषि तथा पशुपंक्षीजन्य उपजबाट रु चार अर्ब ११ करोड ७७ लाख ८१ हजार सङ्कलन भएको हो । यसैगरी गत आवमा छ बैंक तथा आठ सहकारीबाट रु ९९ करोड ९७ लाख १४ हजार पुँजी परिचालन गरी प्रदेश सरकारले रु तीन करोड ४० लाख २३ हजार ब्याज अनुदान भुक्तानी गर्दा यसबाट कर्णालीका नौ सय ७१ व्यावसायिक कृषक लाभान्वित भएको उनले जानकारी दिए ।

उक्त पत्रकार सम्मेलनमा प्रदेश कृषिमन्त्री विनोदकुमार शाहले कृषक र कृषि व्यवसायीलाई उपलब्ध गराइने अनुदानलाई व्यवस्थित एवं प्रभावकारी बनाउन उत्पादनमा आधारित प्रोत्साहन र साना तथा मझौला कृषिमा आधारित उद्योग एवं उद्यमीलाई ब्याज अनुदान सहयोग गरिने बताए ।

साथै उनले कृषि क्षेत्रमा ठूला खालका भौतिक पूर्वाधार, शीतभण्डार, सङ्कलन केन्द्र, सोलार स्टोर, प्रशोधन उद्योग आदि निर्माणपूर्व सम्भाव्यता अध्ययन गर्ने र ठूला योजनाभन्दा साना तथा मध्यम योजना कार्यान्वयनलाई प्राथमिकता दिइने पनि  बताए ।

मंगलबार, १५ साउन २०८१, १२ : ००

प्रतिक्रिया