भरतपुरमा लक्ष्यभन्दा कम राजस्व संकलन

विहीबार, १७ साउन २०८१, १४ : ०६

काठमाडौँ - आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आर्थिक वर्ष २०८०\८१ मा लक्ष्य भन्दा २६ प्रतिशत कम राजस्व संकलन गरेको छ । 

कार्यालयलाई विभागले २७ अर्ब ९९ करोड ८७ लाख लक्ष्य तोकेकामा २६ प्रतिशत कम अर्थात २० अर्ब ५६ करोड ७२ लाख २२ हजार मात्र राजस्व संकलन भएको हो । कार्यालय प्रमुख निरन भट्टराईका अनुसार विगतका वर्षमा सोही अनुपातमा राजस्व संकलन हुने गरेको थियो । विभागले लक्ष्य बढाउने तर राजस्व संकलनको दर उही रहँदा लक्ष्यभन्दा कम राजस्व संकलन भएको उनले बताए।

उनका अनुसार गत आवमा आयकर तर्फ लक्ष्यको ८८ प्रतिशत मात्र राजस्व संकलन भएको छ । आयकरका लागि विभागले दुई अर्ब ९६ करोड ३८ लाख लक्ष्य तोकेको थियो । कार्यालयले दुई अर्ब ६३ करोड १६ लाख राजस्व संकलन गरेको छ । यस्तै मूल्य अभिवृद्धि कर तर्फ लक्ष्यको ८४ प्रतिशत राजस्व संकलन भएको छ । विभागले दुई अर्ब ३३ करोड ७२ लाख लक्ष्य तोकेकामा एक अर्ब ९५ करोड २२ लाख सङ्कलन भएको प्रमुख भट्टराईले जानकारी दिए।

कार्यालयका अनुसार अन्तः शुल्कमा लक्ष्यको ६९ प्रतिशत राजस्व संकलन भएको छ । विभागले २२ अर्ब ३४ करोड ४१ लाख लक्ष्य तोकेकामा कार्यालयले १५ अर्ब ९८ करोड ८२ लाख संकलन गरेको हो । बहाल कर तर्फ ६६ प्रतिशत प्रगति भएको छ । ६० करोड पाँच लाख लक्ष्य दिइएकोमा ४० करोड ३४ लाख राजस्व संकलन भएको भट्टराईले बताए। 

 

विहीबार, १७ साउन २०८१, १४ : ०६

प्रतिक्रिया