विदेशी मुद्रा बढ्दाका फाइदा र घाटा

आइतबार, २० साउन २०८१, १४ : ५७

 

काठमाडौं – विज्ञहरू विदेशी मुद्रा बढ्दाका फाइदा र घाटा दुवै रहेको बताउँछन्। सही ढङ्गले उपयोग गर्दा विदेशी मुद्रा बढ्नुका फाइदा धेरै रहेको उनीहरूको बुझाइ छ।

तर राष्ट्र ब्याङ्कले अहिले लिएको जस्तो नीतिले चाहिँ आन्तरिक अर्थतन्त्र दरिलो बनाउन खासै भूमिका नखेल्ने त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्राध्यापक रामप्रसाद ज्ञवाली को बुझाइ छ।

अहिलेको नीति अल्पकालीन खालको भयो यसले विदेश घुम्न जाउँ, हामीसँग डलर धेरै छ, जतिपल्ट पनि दिन्छौँ भनेजस्तो भयो, उनले भने।

त्यस्तै साना आयातकर्ता र व्यक्तिगत खर्चका लागि सुविधा दिइयो। यसले उपभोगवादी संस्कृतिलाई बढाउँछ तर दीर्घकालका लागि खासै योगदान गर्दैन।

उनी देशभित्रका उद्योगहरूलाई कच्चा पदार्थ ल्याउन तथा निर्माणलगायतका कार्यका लागि उपकरणहरू एवं प्रविधि भित्र्याउन चाहनेका लागि विदेशी मुद्रा लिने प्रावधानहरू खुकुलो पार्नुपर्ने सुझाव दिन्छन्।

त्यसो गरियो भने मात्र दीर्घकालमा हामीलाई फाइदा पुग्छ, उनले भने।

यद्यपि विदेशी मुद्रा बढ्नु अर्थतन्त्रका लागि राम्रो कुरा भएको उनी बताउँछन्।

नेपाल आत्मनिर्भर नभएको र आयातमुखी भएकाले पनि वैदेशिक मुद्रा धेरै हुँदा फाइदै पुग्ने र त्यसले शोधनान्तर स्थितिमा सुधार आउने उनको भनाइ छ।

नेपाल राष्ट्र ब्याङ्कको विदेशी विनिमय विभागमा समेत काम गरेका एकजना पूर्व कार्यकारी निर्देशक वासुदेव अधिकारी विदेशी मुद्रा धेरै हुँदाको फाइदाबारे भन्छन्, यसले देशको आर्थिक शक्ति र साख दुवै बढ्छ।

वैदेशिक व्यापार सन्तुलन र विदेशी लगानी भित्र्याउन पनि देशको यो अवस्थाले सकारात्मक भूमिका खेल्छ।

त्यसलाई थप स्पष्ट पार्दै उनी भन्छन्, विदेशी मुद्रा धेरै भएपछि मुलुकको विश्वास बढ्छ। कसैले यहाँ लगानी गर्न आउँदा पनि हामीले सहजै पैसा पाउन सक्छौँ भन्ने एउटा मनस्थिति पनि बन्छ।

विदेशी मुद्रा सञ्चिति धेरै हुँदाको एउटा मुख्य बेफाइदा मूल्यवृद्धि बढ्ने रहेको उनको भनाइ छ।

अधिकारी भन्छन्, यो वैदेशिक मुद्रा भनेको सरकारको होइन। कतिपयले त पैसा थन्किएको छ, खर्च गर्दैन  नि भन्छन् तर त्यस्तो होइन। यो त निजी क्षेत्रको पैसा हो चाहे आयातबाट आएको होस् वा रेमिट्यान्सबाट।

विदेशबाट आउने मुद्रा भएकाले राष्ट्र ब्याङ्कले एउटा माध्यमबाट त्यसलाई आफूतिर तानेर राखेको हो। त्यसो गर्दा विदेशी मुद्राबापत निजी क्षेत्रलाई नेपाली मुद्रा दिनुपर्छ।

त्यसले मूल्यवृद्धि कसरी बढाउँछ भन्ने स्पष्ट गर्दै उनी भन्छन्, विदेशी मुद्राको साटो नेपाली पैसा निजी क्षेत्रलाई दिँदा त्यसले बजारमा नगद प्रवाह धेरै गर्छ र त्यो नगद चलायमान हुन्छ।

यसरी नगद प्रवाह धेरै भएपछि त्यो खर्च त हुन्छ हुन्छ। जब बजारमा धेरै नगद भएर त्यो खर्च हुन्छ त्यसले मूल्यवृद्धिलाई बढावा दिन्छ।


विज्ञहरू विदेशी मुद्रा सञ्चिति बढ्यो भनेर अल्पकालीन खालका नीतिहरू लिनुको साटो देशलाई दीर्घकालका लागि फाइदा हुने क्षेत्रमा मुद्रा खपत गर्न सुझाव दिन्छन्।

त्यसका लागि सरकारले पुँजीगत खर्च बढाएर ठेकेदारलाई धेरै काम दिनुपर्‍यो। राष्ट्र ब्याङ्कले निर्माण तथा अन्य विकासका लागि आवश्यक मशिन र उपकरणदेखि कच्चा पदार्थ ल्याउन डलर सटही सहज गरिदिनु पर्‍यो र प्रोत्साहन पनि गर्नुपर्‍यो, प्राध्यापक ज्ञवाली भन्छन्।

यस्ता गतिविधिले त देशभित्रको अर्थतन्त्र पनि चलायमान हुन्छ र दीर्घकालीन फाइदा पनि पुग्छ।
 विष्णु पोख्रेल  (बिबिसी)

आइतबार, २० साउन २०८१, १४ : ५७

प्रतिक्रिया