नयाँ सरकार बनेसँगै मुलुकमा आर्थिक गतिविधि बढ्ने सम्भावना देखिएको छ : पूर्वअर्थमन्त्री महत

सोमबार, २१ साउन २०८१, १६ : ०१

काठमाडौँ- सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री  डा प्रकाशशरण महतले नयाँ सरकार बनेसँगै मुलुकमा आर्थिक गतिविधि बढ्ने सम्भावना देखिएको दाबी गरेका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सो कुरा बताएका हुन् । प्रवक्ता महतले खुकुलो  मौद्रिक नीति र कांग्रेस–एमाले सरकारले मुलुकमा स्थायित्व दिनसक्ने भएकाले मुलुकको आर्थिक गतिविधि आगामी दिन बढ्दै जाने देखिएको तर्क समेत गरे । उनले सेयर बजारमा भने बिना आधार उकालो चढिरहेको भन्दै यसमा कडा निगरानी राख्न सरकारलाई सचेत गराए ।  प्रवक्ता महतले केहीको चलखेलका कारण सेयर बजार उकालो लागेको हुनसक्ने औँल्याउँदै सर्वसाधारणलाई यसमा लगानी गर्ने कुरामा सचेत हुन पनि आग्रह गरे । प्रवक्ता महतले सर्वसाधारणको लगानी सेयर बजारमा डुब्नसक्ने खतरा रहेको औँल्याउँदै त्यसो हुन नदिन पनि सरकारको ध्यानाकर्षण गराए । 

सोमबार, २१ साउन २०८१, १६ : ०१

प्रतिक्रिया