वीरगञ्ज भन्सारद्वारा साउनमा १२ अर्ब १६ करोड राजस्व सङ्कलन

मंगलबार, ०४ भदौ २०८१, १३ : ३५

काठमाडौँ - वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा रु १२ अर्ब १६ करोड ३२ लाख ५८ हजार राजस्व सङ्कलन गरेको छ।

साउनमा १६ अर्ब ८६ करोड ८७ लाख ४० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो तर कार्यालयले लक्ष्यको ७२ दशमलव ११ प्रतिशत सङ्कलन गरेको हो।भन्सार विभागले गत आवको साउनमा वीरगन्ज भन्सार कार्यालयलाई रु १५ अर्ब ६२ करोड ३७ लाख ७२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो। सोही आवमा लक्ष्यको ७५ दशमलव ९६ प्रतिशत अर्थात् ११ अर्ब ८६ करोड ८४ लाख ४७ हजार राजस्व सङ्कलन गरेको थियो।

चालु आवको पहिलो महिनामा वीरगञ्ज भन्सार हुँदै रु ४६ अर्ब ५९ करोड २६ लाख ९६ हजार मूल्य पर्ने वस्तु तथा सामान आयात भएका छन्। यो परिमाण गत आवको पहिलो महिनाको तुलनामा तीन दशमलव ५३ प्रतिशतले कम हो।

आव २०८०\८१ को साउनमा यो भन्सार कार्यालय हुँदै ४८ अर्ब २९ करोड ६० लाख १६ हजार मूल्य पर्ने वस्तु तथा सामान आयात भएको थियो। चालु आवको पहिलो महिना यो भन्सार कार्यालय हुँदै स्वदेशी वस्तु निर्यातको परिमाण भने बढेको छ। चालु आवको पहिलो महिनामा दुई अर्ब ६५ करोड ६६ लाख ६८ हजार मूल्यपर्ने स्वदेशी सामान निर्यात भएको छ।

मंगलबार, ०४ भदौ २०८१, १३ : ३५

प्रतिक्रिया