४० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्दै राष्ट्र बैंक

बुधबार, १२ भदौ २०८१, १२ : ३३

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरुबाट ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । 

बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि ४० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको हो । 

इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले बुधबार दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । निक्षेप संकलन उपकरणको आजै बोलकबोल हुनेछ । 

भदौ ८ गतेसम्मको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थहरुद्वारा संकलित कूल निक्षेपको आकार ६४ खर्ब ४७ अर्ब रुपैयाँ रहेको छ । तर, यसै अवधिमा जम्मा ५१ खर्ब ७९ अर्ब रुपैयाँ बराबर मात्र कर्जा लगानी गरेका बैंक तथा वित्तीय संस्थाहरुसँग ६ खर्ब रुपैयाँ माथि तरलता रहेको छ । 

बैंकहरुको कर्जा माग घटिरहेका बेला बैंकहरुमा तरलता थुप्रिएपछि राष्ट्र बैंकले निरन्तर निक्षेप संकल उपकरणमार्फत तरलता प्रशोचन गरिरहेको छ । यसैकै निरन्तरता बुधबार केन्द्रीय बैंकले थप ४० अर्ब प्रशोचन गर्न लागेको हो ।

बुधबार, १२ भदौ २०८१, १२ : ३३

प्रतिक्रिया