काठमाडौँ - गत आर्थिक वर्ष ०७९\८० को भन्दा आर्थिक वर्ष ०८०\८१ मा ४ दशमलव ७२ प्रतिशतले राजस्व सङ्कलन वृद्धि भएको हो ।
बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०८०\८१ मा २५ अर्ब ५० करोड ४२ लाख सङ्कलन भएको हो । आर्थिक वर्ष ०७९\८० मा २४ अर्ब ३५ करोड ४२ लाख राजस्व सङ्कलन गरेको बागमती प्रदेश सरकारले आर्थिक वर्ष ०८०\८१ मा एक अर्ब १५ करोडभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको हो ।
बागमती प्रदेश सरकार अन्तरगत कोष तथा लेखा नियन्त्रक कार्यालय प्रमुख हरिप्रसाद उपाध्यायले लक्ष्य अनुसार नै राजस्व सङ्कलन भएको जानकारी दिए । उनले भने, ‘घरजग्गा रजिस्ट्रेसन ‘मालपोत’ र सवारी साधन करमा केहि कमी आएको छ ।
आर्थिक तरलताका कारण घरजग्गा तथा नयाँ सवारीसाधन खरिद बिक्री कारोबारमा सोचेजस्तो राजस्व सङ्कलन नभएता पनि तुलनात्मक रूपमा गत आर्थिक वर्षभन्दा ४ दशमलव ७२ प्रतिशत वृद्धि हुनु भनेको सन्तोषजनक नै हो ।’
विशेषतः प्रदेशमा घरजग्गा रजिस्ट्रेसन ‘मालपोत’ र सवारी साधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य आयस्रोत मानिन्छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीको रूपमा कुन्दनराज काफ्लेले जिम्मेवारी सम्हालेपछि प्रदेशको अर्थतन्त्र थप सकारात्मक रूपमा चलायमान भएको उपाध्यायको भनाई छ ।
मन्त्रालयको तथ्याङ्क अनुसार दुवै शीर्षकबाट आर्थिक वर्ष २०८०\८१ मा रु १४ अर्ब राजस्व सङ्कलन हुने अनुमान गरिएकामा रु ११ अर्ब ६० करोड ७६ लाख ५० हजार मात्र राजस्व सङ्कलन भएको जनाएको छ ।
त्यस्तै, घरजग्गा रजिस्ट्रेसन शीर्षकबाट ६ अर्ब ७५ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा त्यसको करिब ८१ दशमलव ३२ प्रतिशत अर्थात् रु पाँच अर्ब ४८ करोड ९३ लाख ३८ हजार राजस्व सङ्कलन भएको छ ।
प्रतिक्रिया