राष्ट्र बैंकको थापाथली भवन बल्ल पुनर्निर्माण सकियो

विहीबार, ०३ असोज २०८१, १२ : ३४

काठमाडौँ - नेपाल राष्ट्र बैंकको थापाथलीस्थित भवन पुनर्निर्माण बल्ल सम्पन्न भएको छ । 

भवन निर्माणको जिम्मा पाएको समानान्तर जेभीले उक्त भवन निर्माण सम्पन्न गरेको हो । यो सँगै शनिबार उक्त भवन राष्ट्र बैंक व्यवस्थापनलाई औपचारिक रूपमा हस्तान्तरण गर्ने तयारी गरिएको छ । राष्ट्र बैंक व्यवस्थापनलाई उक्त भवन हस्तान्तरण गर्न लागिएको हो ।

यसका लागि नवनिर्मित भवन परिसरमा विशेष कार्यक्रम आयोजना गर्दैछ । २०७२ सालको भूकम्पबाट उक्त भवन क्षतिग्रस्त भएको थियो ।उक्त भवन पुनर्निर्माणका लागि तत्कालीन गभर्नर डा। चिरञ्जीवी नेपालले २०७५ असोज ५ गते शिलान्यास गरेका थिए । २०७५ फागुनमा तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उक्त भवनको ठेक्का लगाएको थियो । 

कुल ४२ रोपनी तीन आना दुई पैसा क्षेत्रफलमा फैलिएको सो क्षेत्रमा बनेको ६ तले उक्त भवन निर्माणका लागि समानान्तरसँग एक अर्ब ७७ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । अहिले भवन निर्माणको ठेक्का लगाउने पुनर्निर्माण प्राधिकरणको समय सकिएको छ ।

 प्राधिकरणको बाँकी कामको जिम्मेवारी पाएको सहरी विकास तथा भवन निर्माण विभागले उक्त भवन राष्ट्र बैंकलाई हस्तान्तरण राष्ट्र बैंकले जनाएको छ  । भूकम्पअघि राष्ट्र बैंकले थापाथलीस्थित उक्त भवनलाई ढुकुटी तथा बैंकिङ कार्यालयको रूपमा प्रयोग गर्दै आएको थियो ।

नयाँ बनेको उक्त भवन पनि सोही रूपमा तयार गरिएको छ । उक्त भवनको दुई तला बेसमेन्टमा रहेको छ । सबैभन्दा तल्लो तलामा ढुकुटी र त्योभन्दा माथिल्लो तलामा पार्किङ गर्नेगरी डिजाइन तयार गरिएको छ । यस अन्तर्गत मुख्य बैंकिङ कार्यालय भवन, चमेना गृह, हेल्थ क्लब र सेक्युरिटी समेत गरी छुट्टाछुट्टै ब्लक रहेका छन् । 

राणाकालीन दरबार भएको कारणले उक्त भवनलाई पुरानै डिजाइनमा बनाउन पुरातत्त्व विभागले निर्देशन दिएको थियो । विभागको स्वीकृतिमा पुरानै शैली र डिजाइनमा उक्त भवन निर्माण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

विहीबार, ०३ असोज २०८१, १२ : ३४

प्रतिक्रिया