काठमाडौं - नागराजले स्थापना गरेको प्राचीन खस राज्य नेपाल एकीकरणको बेलासम्म शक्तिशाली सिंजा राज्य बनिसकेको थियो । साविक कर्णाली आज पनि कर्णाली प्रदेशका रुपमा चिनिएको छ । तर वास्तविक कर्णाली तत्काली जुम्ला राज्य र त्यसको सार्वभौमसत्ताको अभ्यास हुने क्षेत्रलाई चिनिन्थ्यो । जतिबेला जुम्ला केन्द्र भएको खस राज्य एउटा सम्प्रभुता सम्पन्न थियो, त्यतिबेला त्यहाँको अर्थतन्त्र, सामरिक अवस्था, साँस्कृतिक अवस्था सशक्त रहेको योगी नरहरीनाथको ‘इतिहास प्रकाश’ मा उल्लेख छ ।
गोरखा राज्यको बिस्तारको क्रममा पृथ्वीनारायण शाहका कान्छा छोरा बहादुर शाहले वि.सं १८४६ मा जुम्लामाथि विजयप्राप्त गरेका थिए । त्यसपछि सुरु भयो जुम्लाको पराधिनताको यात्रा । त्यसपछि त काठमाडौंले जुम्लालाई उपनिवेशको रुपमा हेर्न सुरु गर्यो । राज्य विस्तारपछि बनेको एकात्मक राज्यले जहिले पनि जुम्लालाई सौतेनी व्यवहार गर्यो । त्यही विभेदकारी राज्य व्यवस्थाका विरुद्ध प्रचण्डको नेतृत्वमा जुम्ला जनयुद्धमा होमिएको थियो ।
कर्णालीको अर्थ व्यवस्था रैथाने कृषि, हिमालय वारपार व्यापार (Trans Himalayan Trade) मा आधारित थियो । स्थानीयहरु आफ्नै मौलिक अर्थतन्त्रमा निर्भर थिए । गुची च्याउ, कागिनो, जिम्मु, पाँच औंले, पदमचाल्नो, सिलाजित जस्ता वस्तुहरुको उत्पादन र तिनको व्यापार मुख्य पेशा थियो । मानिसहरु आत्मनिर्भर थिए । फुर्सदको समयमा तिनै वस्तुहरु लिएर स्थानीय मानिसहरु तराईतिर झर्थे र तराइमा पाइने अन्नबाली लिएर कर्णालीतिर उकालो लाग्थे । भेंडा, च्याँग्रा र घोंडाको व्यापार पनि जुम्लाको आन्तरिक अर्थव्यवस्थाको अर्को महत्वपूर्ण आधार थियो । अहिले त जुम्लाको मुख्य आकर्षण स्याउ रहेको छ । जुम्लाको स्याउले बजार पाउने हो भने पुरानो खस राज्यको शाख फिर्ता गर्न सकिने स्थानीय बुद्धिजीवीहरु बताउँछन् । जुम्लाका माओवादी नेता तथा संविधानसभाका सदस्य नरेश भण्डारीले आफ्नो पुस्तक ‘चाँदीको घेरा’ मा कर्णालीको विकासको संभावना र विभिन्न आयामहरुको तथ्यपुर्ण र रोचक चर्चा गरेका छन् ।

उपुर्यक्त चर्चा किन गरिएको हो भने भर्खरै माओवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड जुम्ला पुगेका थिए । त्यहाँ उनले व्यक्त गरेका विचारहरु जुम्ला र कर्णालीको दीर्घकालीन विकासकालागि कति उपयोगी रहे प्रचण्डले त्यहाँ गएर के बोल्नुपथ्र्यो आदि विषयमा यहाँ चर्चा गर्न खोजिएको छ । प्रचण्ड एउटा दलको नेता मात्र होइनन् । उनी पूर्व प्रधानमन्त्री मात्र पनि होइनन् । उनी त गणतन्त्र नेपालका सूत्रधार र नेतृत्वकर्ता पनि हुन । माओवादीकै भाषामा महान जनयुद्धका सर्वोच्च कमाण्डर हुन । संयोगले उनी त्यही युद्धको केन्द्र बनेको कर्णालीमा उभिएर बोल्दा स्थानीयले सरोकार राख्नु स्वभाविक छ । प्रचण्डको सभामै पुगेका स्थानीय मानबहादुर शाहीले जनयुद्धका कमाण्डर प्रचण्डबाट कर्णालीको विकासको ठोस योजना सुन्न चाहेका थिए । कर्णालीको जडिबुटी र स्याउको व्यापार विस्तार कसरी गर्ने ? त्यहाँको प्राकृतिक तथा कृषिजन्य स्रोतको व्यावसायिक उत्पादन र बजार विस्तार गरी स्थानीय जनताको जीवनस्तर उठाउन स्पष्ट विचार सुन्न चाहेका जुम्लावासीहरु प्रचण्डको सम्बोधनबाट खासै उत्साहित बन्न नसकेको शाहीको भनाइ छ । उनले आजको अर्थसित भने,‘ केपी ओलीलाई गाली गर्न प्रचण्ड जुम्लै आउनुपर्ने काम थिएन । काठमाडौंबाट गाली गरे पनि त हुन्थ्यो नि । हाम्रो आशा त कर्णालीेको सुन्दर र उज्जवल भविष्यको लागि बाटो देखाउनेछन् भन्ने लागेको थियो । ’
जुम्लाकै एक जना माओवादी कार्यकर्तालाई अध्यक्षले गरेको भाषणको प्रतिक्रिया बुझ्न खोज्दा भने, ‘ अध्यक्षले केपी ओलीको त दोहोलो काढ्नभो । अन्य समसामयिक राजनीतिको बारेमा पनि प्रशिक्षणमुलक र वैचारिक कुराहरु राख्नुभयो ।
’
उनकै कार्यकर्ता नरेश भण्डारीले ‘चाँदीको घेरा’ मा औल्याएका विकासका संभावनाहरु साकार पार्न माओवादी र स्वयम प्रचण्ड कति इमान्दार भएर लागेका छन् भन्ने कुरामा माओवादी पार्टीकै ध्यान जान नसकेको जुम्लाको कार्यक्रमले देखाएको छ ।
प्रतिक्रिया