काठमाडौँ- पोलियो उन्मूलन गर्ने विश्वव्यापी अभियानमा संलग्न हुन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आग्रह गरेका छन् । विश्व पोलियो दिवसको अवसरमा मन्त्री पौडेलले भिडियो सूचना जारी गर्दै यस्तो अनुरोध गरेका हुन् ।
मन्त्री पौडेलले पोलियो उन्मूलन गर्ने अभियानमा आफ्ना बालबालिकालाई एक वर्षको उमेरभित्र एकरएक महिनाको फरकमा तीन पटक पोलियो थोपा खुवाएर संलग्न हुन आग्रह गरेका हुन् ।
सरकारले राष्ट्रिय खोप तालिकामा पोलियो खोप समावेश गरेर १४ र नौ महिनाको उमेरमा एक एक पटक लगाउने व्यवस्था गरेको छ ।
संसारबाट पोलियो रोग उन्मूलन नभएसम्म पोलियो जस्तो घातक रोगको जोखिममा रहिरहने हुँदा बालबालिकालाई सरकारले प्रदान गर्ने सम्पूर्ण खोपहरुको पूर्ण मात्रा लगाएर सुरक्षित गर्नु गराउन मन्त्री पौडेलको अनुरोध छ ।
मन्त्री पौडलेका अनुसार अझै पनि केही देशमा पोलियोका नयाँ बिरामी देखापर्नुका साथै कतिपय देशमा वातावरणमा पनि पोलियोका भाइरसहरु देखिएको हुँदा पोलियोको जोखिम कायम नै छ ।
हाम्रो देशको सन्दर्भमा पनि वातावरणमा पोलियो भाइरस भए नभएको बारे गरिने निगरानीलाई थप प्रभावकारी बनाइएको मन्त्री पौडेलको भनाइ छ ।
प्रतिक्रिया