नेपाल बैंकमा गैरकानुनी धन्दा : नक्कली व्यवसायी बनाएर कर्जा प्रवाह

अख्तियारमा उजुरी

शुक्रबार, ०९ कार्तिक २०८१, ०९ : ५५

काठमाडौं– सरकारी स्वामित्वको नेपाल बैंकको रौतहटस्थित समनपुर शाखाका तत्कालीन प्रमुख रवीन्द्रप्रसाद  जयसलवालको ठगी धन्दा फेला परेको छ । उनले आफू कार्यरत उक्त शाखाबाट नक्कली व्यवसाय खडा गरेर कर्जा प्रवाह गर्ने गरेको गैरकानुनी तथ्य सार्वजनिक भएको हो।

त्यहाँ कार्यरत रहेको बेला अनाधिकृतरुपमा कर्जा प्रवाह गरेको गुनासो बैंकको केन्द्रीय कार्यालयमा आए पछि स्थलगत निरीक्षणका लागि पुगेको टोलीले जयसवालको गैरकानुनी धन्दा फेला पारेको हो ।

उनले भौतिकरुपमा व्यवसाय नगरेकाहरुलाई समेत कर्जा उपलब्ध गराएका छन् । उनको कार्यकालमा त्यस शाखामा बेथिति बढेपछि नेपाल बैंकले केन्द्रबाटै आफनै आन्तरिक लेखा परीक्षकलाई स्थलगत निरीक्षणका लागि खटाएको थियो ।

उनले नक्कली दृष्टिबन्धक राखेर कर्जा प्रवाह गर्नेदेखि नक्कली जग्गा रोक्का समेत गर्ने गरेको तथ्य समनपुर शाखाको स्थलगत निरीक्षणमा पुगेको टोलीले तयार पारेको प्रतिवेदनमा उल्लेख गरिएको छ । उनले प्रदान गरेको ५४ वटा कर्जा वितरणमा कैफियत देखिएको छ भने धितोको अधिक मूल्यांकन गराएर कर्जा प्रवाह गरेको तथ्य समेत बाहिरिएको छ ।

२४ करोड रकमभन्दा बढी रकम अनाधिकृतरुपमा कर्जा प्रवाहमार्फत हिनामिना गरेर बैंकका ग्राहकहरुबाट समेत अनुचित लाभ लिएको तथ्य स्थलगत निरीक्षणको संक्षिप्त प्रतिवेदनमा उल्लेख छ ।

यस्तै उनले समनपुर शाखामा कार्यरत रहँदा कुनै व्यवसायमा आबद्ध नभएका, व्यवसाय नै नगरेका र झुटा विवरण राखेर समेत व्यावसायिक कर्जा प्रदान गरेर आफ्नो पदको दुरुपयोग गरेका छन् । 

‘नक्कली व्यवसाय खडा गर्न लगाइ ग्राहकलाई कर्जा प्रदान गरेको, धितो/सुरक्षणको अधिक मूल्यांकन गरे/गराइएको, व्यवसाय नै सञ्चालनमा नरहेका फर्महरुको स्थलगत निरीक्षण प्रतिवेदनमा झुटा विवरण राखि कर्जा लगानी गर्नुका साथै नवीकरण समेत गरेको, नाताले आफ्नै भिनाजु पर्ने इञ्जिनियरबाट कर्जा प्रवाहको सुरक्षण मूल्यांकन गराइ कर्जा प्रवाह गरेको र सो बापत ग्राहकहरुबाट रकम असुल उपर गरेको, अन्य व्यक्तिको फर्मलाई फाइदा पुग्नेगरी ग्राहकहरुलाई गुमराहमा राखी फर्म दर्ता गर्न लगाइ पेमेण्ट ग्यारेण्टी  लिमिट स्वीकृत गरे र गराएको र उक्त कार्यबाट ग्यारेण्टी कर्जा सृजना भइ बैंकलाई हानी नोक्सानी पुर्याएको, निजले नक्कली रोक्का तथा दृष्टिबन्धक गरेको हुनसक्ने भएकाले निज संलग्न रहेका सम्पूर्ण कर्जाहरुको सम्बन्धित मालपोत कार्यालयहरुबाट यकिन गर्नुपर्ने’,नेपाल बैंकका आन्तरिक लेखा परीक्षक खड्गसिंह बरालद्वारा तयार पारिएको स्थलगत निरीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ। 

हेर्नुहोस् प्रतिवेदन 

WhatsApp Image 2024-10-25 at 10.02.13 AM (1) (1)WhatsApp Image 2024-10-25 at 10.02.14 AM (1)WhatsApp Image 2024-10-25 at 10.02.14 AM (1) (1)WhatsApp Image 2024-10-25 at 10.02.14 AM (2) (1)WhatsApp Image 2024-10-25 at 10.02.14 AM (3) (1)WhatsApp Image 2024-10-25 at 10.02.15 AM (1)

जयसवालले समनपुर शाखामा रहँदा नेपाल बैंकका केन्द्रीय कार्यालयका कर्मचारीहरुको मिलेमतोमा उक्त अवैध कार्य गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उनीसहित अन्य दुई जना कर्मचारीविरुद्ध उजुरी पनि परेको छ। 

मुख्य प्रबन्धक प्रविनबाबु घिमिरे र सहायक कर्मचारी लक्ष्मण पौडेलले जयसवाललाई यस्ता गैर कानूनी कार्य गर्न लगाएकाले यी दुबै जनालाई अख्तियारले अनुसन्धान गरी कारबाही गर्न माग गरिएको छ। 

स्थलगत निरीक्षण प्रतिवेदनसहित कारबाहीको माग गर्दै दिइएको निवेदनमा तत्काल अनुसन्धान थालेर कानूनी दायरामा ल्याउन आग्रह गरिएको छ।

यसबारेमा प्रतिक्रिया लिन जयसवालसँग फोन सम्पर्क गर्दा उनीसँग सम्पर्क हुन सकेन।

हेर्नुहोस् अख्तियारमा उजुरी

AKHTIYAR (1)

शुक्रबार, ०९ कार्तिक २०८१, ०९ : ५५

प्रतिक्रिया